आफ्नै आमाबुवाले हेलाँ गरेपछि….

  • 19 फेब्रुअरी 2018
महिला

नमिठो खाना वा नमिल्ने लुगा जस्तै, म पनि बेवास्ता गरिएकी पात्र हुँ।

बेवास्ता गरिएकी छोरी। सानै हुँदा मेरा आमाबुवाले मलाई छाडे।

के उनीहरूको मृत्यु भएको थियो? होइन, म टुहुरी होइन।

त्यसले मलाई अझ धेरै पीडा दिन्छ।

मेरा आमाबुवा म बसेकै गाउँमा बस्छन्। तर उनीहरू अपरिचित जस्तै व्यवहार गर्छन्।

म कोक्रोमा सुत्ने उमेरमै उनीहरूले मलाई छाड्ने निर्णय गरे।

पति नपुंसक भएको थाहा पाएपछि…

अनुभूति

त्यसबेला भोक लाग्दा, चिच्याएर रूँदा, म मलाई फकाउन लोरी सुनाउने मान्छे कुर्थेँ।

तर कुनै आवाज आउँदैनथ्यो। केही गुमाएको वा दु:ख लागेको अनुभूति नै थिएन।

म जन्मिए लगत्तै मेरो बुवाले अर्की महिलालाई विवाह गरे र उनीबाट सन्तान जन्माए।

त्यसपछि मेरी आमाले पनि मलाई छोडिन्।

उनको पनि अर्को पुरूषसँग माया बस्यो।

र म? मलाई माया नपाउनुको अनुभूति के हो भन्ने पनि थाहा भएन।

मामाघरमा म दुखै दु:खमा हुर्किएँ। म हुर्किएर कुरा बुझ्ने भएपछि मामाले नै मलाई मेरा आमाबुवा को हुन् भनेर चिनाए।

मलिन आँखाले मैले उनीहरूलाई हेरेँ। मलाई लागेको थियो, उनीहरूले मलाई नजिक बोलाउनेछन् र अँगालोमा लिनेछन्।

तर उनीहरूले मलाई अपरिचितलाई जसरी हेरे।

कोसिस

म कसैको सन्तान नभएको प्रष्ट थियो।

त्यही भएर मेरा मामाले मलाई एउटा गैरसरकारी संस्थाले चलाएको होस्टेलमा भर्ना गरिदिए।

मेरा बुवाले मेरी सौतेनी बहिनीलाई पनि त्यही होस्टेलमा भर्ना गरिदिए।

उनलाई प्रत्येक पटक देख्दा मलाई आफू नरूचाइएको याद आउँथ्यो।

मलाई उनीप्रति कुनै वैरभाव छैन। हामी कुराकानी गरि रहन्छौं।

उनलाई थाहा छ, मलाई थहा छ। र, मलाई थाहा छ भन्ने पनि उनले थाहा पाएकी छन्।

तर पनि त्यो पीडादायी छ। मेरा बुवा उनलाई भेट्न आइरहन्छन् र उनलाई बिदामा घर लिएर जान्छन्।

म मौनतामा कुरिरहन्छु र मलाई पनि घर लैजान बुवा आउलान् कि भनेर पर्खि बस्छु।

तर मेरो पर्खाइ सधैँ व्यर्थ हुन्छ। बुवाले मलाई हेर्दा पनि हेर्दैनन्।

मलाई थाहा छैन उनलाई मेरो माया लाग्छ कि लाग्दैन वा मेरी सौतेनी आमाले मलाई घर लैजान उनलाई दिन्छिन् कि दिन्नन्।

म उनीहरूको आँखाबाट आफूलाई परै राख्ने कोसिस गर्छु र एक्लै रून्छु।

अरू केटाकेटी जस्तो म बिदा कुरेर बस्दिनँ।

प्रयास

बिदा भनेको मेरा लागि पैसा कमाउन खेतमा काम गर्ने समय हो। अन्यथा, म खान पाउँदिन।

बेला बेला म गाइवस्तु पनि हेर्छु।

मैले पाएको ज्याला म मेरो मामाको परिवारलाई दिन्छु। त्यसको बदलामा उनीहरूले मलाई खान र बस्न दिन्छन्।

विद्यालय खुलेको बेला चाहिने कापी कलम किन्न केही रकम जोहो गर्न उनीहरूले मलाई दिन्छन्।

तर पनि म मेरा आमाबुवालाई माया गर्छु। म उनीहरूसँग रिसाएकी पनि छैन।

उनीहरूबाट स्नेह पाउने धोको छ।

मैले उनीहरूसँग चाडपर्व मनाउने सपना देखेको छु। तर दुवैका आफ्नै जीवनसाथी र परिवार छन्।

दुवैका घरको दैलोमा मलाई स्वागत गरिँदैन। मलाई त्यो प्रयास मात्रै गर्न पनि डर लाग्छ।

त्यही भएर चाडपर्व आउँछन् र जान्छन्।

पारिवारिक रमझम मेरो लागि हासिल गर्न नसकिने सुखसुविधा हो।

मेरा साथीहरूले सुनाउने कथाहरू मात्रै म सुन्न सक्छु। उनीहरूका बिदाका कुराबाट नै मेरा सपनाहरू बनेका छन्।

मेरा साथीहरू मेरा वास्तविक दाजुबहिनी हुन् जोसँग म आफ्ना सुख र दुख साट्ने गर्छु।

मेरा सबै भावना म उनीहरूसँग व्यक्त गर्छु। र, म आफैँसँग एक्लै लड्दा थाकेपछि उनीहरू मेरो ख्याल गर्छन्।

र हाम्री वार्डेन मेरो वास्तविक आमा थिइन्।

अठोट

उनीसँगै बसेर मैले आमाको ममताबारे थाहा पाए।

मेरा साथीहरू बिरामी पर्दा, उनले उनीहरूका परिवारलाई सम्पर्क गरिदिन्छिन्।

तर मेरा लागि उनी नै परिवार हुन्।

उनले आफूले सकेको गर्छिन्। उनले मलाई राम्रा कपडाहरू दिन्छिन्।

म त्यसबेला विशेष महसुस गर्छु। मलाई स्नेह पाएको महसुस हुन्छ।

तर जीवनका केही साधारण खुसीहरू विना नै बाँच्न मैले सिकेको छु। जस्तै म मेरा मनपर्ने खानेकुरा पकाउन कसैलाई आग्रह गर्न सक्दिनँ।

अहिले म नौ कक्षामा अध्ययनरत छु। यो होस्टेलले कक्षा १० सम्मका विद्यार्थीहरूलाई राख्छ।

त्यसपछि म कहाँ जानेछु मलाई थाहा छैन। मेरा मामाहरूले अब मलाई सहयोग गर्दैनन्।

शायद मैले मेरो विद्यालयको शुल्क तिर्नलाई काम गर्नुपर्ने हुनसक्छ।

किनभने म प्रष्ट छु म पढाइ छाड्दिन। शिक्षा नै मेरो जीवन राम्रो बनाउने एकमात्रै बाटो हो।

म डाक्टर बन्न चाहन्छु।

यदि म आफ्नो गाउँ गएँ भने, मलाई विवाह गर्न बाध्य बनाइनेछ।

यस्तो होइन कि म विवाह र परिवारलाई घृणा गर्छु तर म शुरूमा स्वतन्त्र हुन चाहन्छु।

जब म हुर्किन्छु, म आफ्नो रोजाइको पुरूषसँग विवाह गर्छु। उसँग एउटा सुन्दर र मायालु परिवार बनाउने कुरा सुनिश्चित गर्न चाहन्छु।

(यो दक्षिण भारतमा बस्ने एक महिलाको वास्तविक कथा हो। ती महिलाको अनुरोधमा उनको परिचय गोप्य राखिएको छ। उनले आफ्नो कथा बीबीसी संवाददाता पद्मा मिनाक्षीलाई सुनाएकी थिइन् र यो सामग्री बीबीसीकी दिव्या आर्याले तयार पारेकी हुन्।)