ट्रुडोको भ्रमणलाई महत्व नदिइएको हो?

  • 19 फेब्रुअरी 2018
जस्टिन ट्रुडो तस्वीर कपीराइट EPA

क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको पहिलो औपचारिक भारत भ्रमणलाई महत्व नदिइएको चर्चा चलेको छ।

प्रधानमन्त्री ट्रुडो र उनको परिवारको भ्रमणलाई भारत सरकारका वरिष्ठ अधिकारीहरुले खासै वास्ता नगरेको देखिएको छ।

भारतको राजधानी दिल्ली विमानस्थलमा उनलाई कनिष्ठ मन्त्रीले स्वागत गरेका थिए।

ब्रजिल र क्यानाडाका कूटनीतिज्ञलाई देश निकाला

अपमान?

उक्त भेटलाई धेरैले अपमान भनी व्याख्या गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, कतिपय अवसरमा, व्यक्तिगत रुपमै विमानस्थल पुगेर विदेशी नेताहरुको स्वागत गरेका छन्। उनले विदेशी समकक्षीहरुलाई अंगालो हाल्ने गरेको विषय पनि चर्चित छन्।

हालसालै जेनुअरीमा भारत भ्रमण गरेका इजरेली प्रधानमन्त्री बेन्जमीन नेतान्याहुलाई प्रधानमन्त्री मोदीले त्यसैगरी न्यानो स्वागत गरेका थिए।

तर प्रधानमन्त्री मोदीले क्यानाडेली प्रधानमन्त्रीको भारत भ्रमणको दुई दिन वितिसक्दा पनि अझैसम्म उनीसंग भेट गरेका छैनन्।

सोमबार क्यानाडेली प्रधानमन्त्री ट्रुडोले प्रधानमन्त्री मोदीको गृहराज्य गुजरात भ्रमण गर्दा पनि मोदी अनुपस्थित थिए।

यसो गर्नेमा प्रधानमन्त्री मात्र छैनन्।

तस्वीर कपीराइट Getty Images
Image caption गत महिना इजरेली नेता भारत आउँदा मोदीले न्यानो स्वागत गरेका थिए।

केही सञ्चारमाध्यमका अनुसार आइतबार ताज महल भ्रमण गरेका ट्रुडोलाई उत्तर प्रदेशका मुख्यमन्त्रीले स्वागत गरेनन्।

ट्रुडो र उनको परिवारलाई स्वागत गर्नका लागि कनिष्ठ मन्त्री पठाइनु अपमान भएको अर्थशास्त्री तथा टिप्पणीकार विवेक देहेजियाले बीबीसीलाई बताएका छन्।

कारण?

ट्रुडोको सरकारका थुप्रै सदस्यहरुको सम्बन्ध भारतको शिख स्वतन्त्रतासम्बन्धी खालिस्तान आन्दोलनसँग रहेकाले त्यसो गरिएको हुनसक्ने देहेजियाले बताए।

सन् १९८५ मा ३२९ जना मारिने गरि भएको एयर इन्डिया बम आक्रमणसंग शिख पृथकतावादी समूह जोडीएको क्यानाडेली अधिकारीहरुले बताएका थिए।

देहेजियाका अनुसार ट्रुडोको लिवेरल पार्टी शिख क्यानाडेलीहरुको समर्थनमा धेरै निर्भर छ र उनको सरकारका केही शिख सदस्यहरु खालिस्तानीहरुसँग निकट छन्।

ट्रुडोले चार जना शिख क्यानाडेलीहरुलाई उनको मन्त्रिपरिषदमा राखेका छन्।

पञ्जाबका मुख्यमन्त्रीले क्यानाडेली रक्षामन्त्री हर्जित सज्जनलाई गत अप्रिलमा भेट्न अस्वीकार गरेका थिए।

तर क्यानाडाका लागि पूर्व भारतीय उच्चायुक्त विष्णु प्रकाशले ट्रुडोलाई कुनै अपमान नगरिएको र उनको स्वागत कुटनीतिक शिष्टाचार बमोजिम नै भएको बताएका छन्।

कूटनीतिक शिष्टाचार बमोजिम विदेशी नेतालाई क्याविनेट मन्त्रीले स्वागत गर्ने र यही शिष्टता ट्रुडोको हकमा पनि लागू भएको प्रकाशले बीबीसीलाई बताएका छन्।

विगतमा मोदीले व्यक्तिगत रुपमा विदेशी नेताहरुलाई स्वागत गर्ने परम्पराको यसपाली उल्लंघन भएको भए पनि भारत भ्रमणमा आउने सबैलाई उसैगरी स्वागत हुनुपर्छ भनेर आश गर्न नहुने उनले उल्लेख गरे।

सम्बन्धित सामग्री