सिरियाः बमबारी रोक्न राष्ट्रसंघको माग

  • 20 फेब्रुअरी 2018
सिरिया तस्वीर कपीराइट AFP/Getty

सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको अभियानकर्ताहरूले बताएका छन्।

हवाई तथा रकेट आक्रमणहरूमा २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ।

बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया दिएका छन्।

पकड

उक्त क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको एकमात्र बाँकी क्षेत्र हो।

त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमणको तयारी गरिरहेको ठानिएको छ।

सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास हमला

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
किन टर्कीका सेना सिरिया पसे?

बीबीसीकी मध्यपूर्व संवाददाता लिना सिन्जाब भन्छिन्, पूर्वी गुटामा आइतबार गरिएको हमलाले सर्वसाधारणलाई मात्र नभइ उनीहरूको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण संरचनाहरू जस्तै गोदामहरू, खाद्यभण्डार र बेकरीलाई पनि निशाना बनाएको छ।

पछिल्लो बमबारीले वर्षौँयताको सबैभन्दा खराब हमला भनिएको छ।

भय

मानिसहरूमा उक्त स्थान अर्को अलेप्पो बन्ने भय छ।

सहायताकर्मीहरूका अनुसार हमलाले उक्त क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ जसका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने देखिन्छ।

स्वस्थ्य केन्द्रहरूमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ।

एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पताल सोमबारको आक्रमणमा परेका थिए।

विद्रोहीहरूले मोर्टार हमलाबाट जवाफ दिइएरहेका छन् तर सरकारी सैन्य बल उनीहरूभन्दा बढी शक्तिशाली देखिएका छन्।