सिरिया: सरकारी फौजको आक्रमणमा '१०० भन्दा बढीको मृत्यु'

  • 20 फेब्रुअरी 2018
बालबालिका तस्वीर कपीराइट EPA

सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन्।

ह्वाइट हेल्मेट्स भनेर चिनिने सिरियाली सिभिल डिफेन्स समूहका अनुसार मंगलबार बिहान बमहरु खस्ने क्रम जारी नै थिए।

सिरियाली फौजले विद्रोही नियन्त्रणमा रहेको उक्त क्षेत्र पुनः प्राप्त गर्नका लागि आक्रामक कदम चालेका थिए।

राजधानी नजिक रहेको पूर्वी गुटा विपक्षीको नियन्त्रणमा रहेको अन्तिम प्रमुख क्षेत्र हो।

लोकल कोअर्डिनेसन कमिटिज् भनिने विपक्षी कार्यकर्ता सञ्जालका विवरण अनुसार डुमा, मिसराबा र अल-नशाविया क्षेत्रमा भएका हवाई आक्रमणमा नागरिकहरु मारिएका वा घाइते भएका छन्।

एउटा उद्धार समूहले मंगलवार मिसराबामा तीन जना र अल-मर्जमा चार जना मारिएको जनाएको छ।

क्षति

हामा प्रान्तमा हवाई हमला, अस्पतालमा क्षति

सिरियाः बमबारी रोक्न राष्ट्रसंघको माग

यूकेस्थित अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स र ह्वाइट हेल्मेट्सका अनुसार सोमवार भएको बमबारीमा एक सय जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघका एक जना अधिकारीले बमबारी रोक्न आग्रह गर्दै त्यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको बताएका छन्।

यसैबीच टर्कीले उत्तरी सिरियामा टर्कीका सेनाविरुद्ध लडिरहेका कुर्द लडाकुहरुलाई सहयोग नगर्न सिरियाली सरकारलाई चेतावनी दिएको छ।

आइतवारयता पूर्वी गुटा क्षेत्रमा भएका आक्रमणहरुका कारण नागरिकहरु मात्र नभई उनीहरु बाँच्नका लागि चाहिने खाद्य आपूर्ती समेत प्रभावित भएको छ।

स्थानीय मानिसहरुले पछिल्लो आक्रमणलाई उनीहरुले देखेकोमध्येको सबैभन्दा खराब भनेका छन्।

पूर्वी गुटावासी आफ्नो क्षेत्र अर्को एलेप्पो बन्ला भन्ने त्रासमा छन्।

सहायता कार्यकर्ताहरुका अनुसार आक्रमणकारीहरुले उक्त क्षेत्रका प्रमुख सडकहरु लक्षित गरेका छन् जसले सहायता वा उद्धार प्रयास वा एम्बुलेन्सलाई रोक्छ।

एउटा भिडिओमा सोमबार हामोरियामा २० जना मारिने गरी भएको हवाई आक्रमणपछि मानिसहरु क्षतिग्रस्त भवनहरुको धुलो र भग्नावशेषहरुबाट भागिरहेको देख्न सकिन्छ।

सम्बन्धित सामग्री