फागुन २९ गते राष्ट्रपतिको निर्वाचन

  • 22 फेब्रुअरी 2018
Image caption शीतल निवास, राष्ट्रपतिको कार्यालय

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ।

बिहीवार बसेको पदाधिकारीहरूको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा २ बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गर्ने निर्णय गरेको हो।

निर्णय लिनुअघि निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

संसद्‌मा बहुमत रहेको वाम गठबन्धनको ठूलो दल नेकपा एमालेलाई राष्ट्रपति पद दिने सहमति भएको बताइएको छ।

तर उक्त दलले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्‍याउने वा अरू कसैलाई उम्मेदवार बनाउने भन्नेबारे औपचारिक निर्णय भने लिइसकेको छैन।

'राष्ट्रपति निर्वाचनबारे सरकारसँग परामर्श'

नेपालको संविधानको धारा ६२ का अनुसार संघीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यहरूको रहेको निर्वाचक मण्डलले मतदानमार्फत् राष्ट्रपति छान्नेछ।

तर उनीहरूको मतभार भने फरक हुनेछ।

निर्वाचनमा संघीय कानुनबमोजिम प्रदेश संसद्‌का सदस्यको मतभार ४८ र संघीय संसद्का सदस्यको मतभार ७९ कायम गरिएको छ।

मतभार २०६८ सालमा गरिएको जनगणना अनुसारको कुल जनसंख्याका आधारमा निर्धारण गरिएको हो।

कार्यतालिका

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

प्रकाशित निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारले फागुन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ।

त्यसको भोलिपल्ट आयोगले उम्मेदवारको दाबी विरोधमा उजुरी लिनेछ र परेका उजुरबारे जाँचबुझ गरेर फागुन २४ गते उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।

उम्मेदवारी फिर्ता लिन फागुन २४ गतेको मिति तोकिएको छ भने अन्तिम नामावली त्यसको भोलिपल्ट अर्थात् निर्वाचन हुनु पाँच दिनपूर्व प्रकाशित हुनेछ।

मतदान भएकै दिन अपराह्ण ४ बजेदेखि मतगणना गरिने आयोगले जनाएको छ।

नयाँ राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति बन्दिन: वामदेव गौतम

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
एमाले उपाध्यक्ष वामदेव गौतमसँगको कुराकानी