राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश 'मन्त्री र सांसदविहीन' हुने

प्रदेश सभाका सदस्य

भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन 'मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन' हुने भएका छन्।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो।

संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ।

उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुन: राजधानी आउनेछन्।

असन्तुष्टि

ती दुई पदका लागि काठमाण्ड‍ूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, "प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।"

उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ।

शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ।

प्रदेश सभाका सदस्य

तस्बिर स्रोत, Hemanta Shrestha

उनले भने, "कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।"

राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, "प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।"

फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।