पूर्वी गुटा छाड्न सिरियाली सरकारद्वारा सर्वसाधारणलाई आह्वान

  • 23 फेब्रुअरी 2018
सिरिया तस्वीर कपीराइट AFP

सिरियाली सरकारले विद्रोही-नियन्त्रित पूर्वी गुटामा रहेका मानिसहरुलाई सो ठाउँ छाड्न आह्वान गरेको छ।

उसका फौजले सो ठाउँमा लगातार छैटौँ दिन बमबारी जारी राखेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले त्यहाँ युद्धविराम गराउने प्रस्ताव पारित गराउन कसरत गरिरहेको छ।

सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास हमला

सिरिया: पूर्वी गुटाको स्थिति भयावह

बमबारी जारी

सहायता सामाग्री लैजान दिन र उपचार आवश्यक भएकाहरुको उद्धार गर्न ३० दिने संघर्षविरामको प्रस्ताव गरिएको राष्ट्रसंघ सुरक्षा परिषद्को सो प्रस्तावमा रुसले परिवर्तन चाहेको छ।

पश्चिमा कूटनीतिज्ञहरूले सिरियाको मुख्य सहयोगी रुसले समय बर्बाद गरिरहेको आरोप लगाएका छन्।

फ्रान्सले यो विषयमा कारबाही गर्न नसके संयुक्त राष्ट्रसंघकै औचित्य सकिने राय व्यक्त गरेको छ।

अभियानकर्मीहरुका अनुसार यो हप्ताभित्र पूर्वी गुटामा ४२६ जना मारिएका छन्।

शुक्रवार पनि लडाकु विमानहरूले बमबारी जारी राखेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

कूटनीतिज्ञहरुले केहीबेरमै सुरक्षा परिषद्ले यस प्रस्तावमा मतदान गर्ने बताए।

तर उनीहरूले रुससँग कुनै सहमति भएको हो वा होइन भन्न चाहेनन्।

पहुँच

तस्वीर कपीराइट Getty Images

पश्चिमा शक्तिहरु के ठान्छन् भने दमास्कसको बाहिरी भेगमा रहेको सो क्षेत्रमा रहेका विद्रोहीमाथि अन्तिम धक्का दिने सिरियाली सरकारको प्रयास सफल पार्न मस्को केही समय सिरियालाई दिन चाहन्छ।

अमेरिका, ब्रिटेन र फ्रान्सले कुनै ढिलाइ विना सो प्रस्ताव स्वीकृत हुनुपर्छ भनिरहेका छन्।

सिरियाका निम्ति राष्ट्रसंघका विशेष दूत स्टाफान डी मिस्टुराले युद्धविराम लगत्तै पूर्वी गुटामा निर्वाध पहुँच दिइनुपर्ने बताएका छन्।

कुवेत र स्वीडेनले प्रस्तुत गरेको प्रस्तावमा उक्त प्रस्ताव पारित हुनासाथ ७२ घण्टाभित्र देशभर युद्धविराम कार्यान्वयन हुनुपर्ने उल्लेख छ।

त्यसको ४८ घण्टापछि उद्धारकार्य तथा सहायता सामाग्री वितरण शुरु हुन सक्छन्।

सम्बन्धित सामग्री