आइएससँग आबद्ध भएको अभियोगमा मृत्युदण्ड

इराक

तस्बिर स्रोत, DELIL SOULEIMAN/AFP/GETTY IMAGES

इराकको एउटा अदालतले इस्लामिक स्टेट समूहमा आबद्ध भएको अभियोगमा टर्कीका कम्तीमा १५ जना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।

केही विवरणमा १६ जनालाई मृत्युदण्ड सुनाइएको उल्लेख गरिएको छ भने केहीमा एक जनालाई आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ।

न्यायाधीशले भनेका छन्, ती महिलाहरूले आइएस लडाकुहरूसँग बिहे गरेको अथवा आवश्यक सामग्री उपलब्ध गराएर लडाकुहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन्।

इराक र सिरियामा हजारौं विदेशी नागरिकहरूले लडाइँ गरेका छन् र उनीहरू मारिएका छन्।

लडाइँ

गत डिसेम्बरमा इराकी सरकारले आइएसविरूद्ध लडाइँको घोषणा गरेको थियो।

आइएसलाई उसको पकड क्षेत्रहरूबाट धपाइसकिए पनि लडाकुहरूले अझै आत्मघाती हमला र अरू आक्रमणहरू गर्दै आएका छन्।

तस्बिर स्रोत, Reuters

२० देखि ५० वर्ष उमेर भएको ठानिएका ती महिलाहरू कालो पोशाकमा आइतवार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित भएका थिए।

उनीहरूमध्ये चारजनासँग स-साना बच्चा पनि थिए।

आरोप

समाचार संस्था एएफपीका अनुसार जिहादी भएको वा आइएस लडाकुका आफन्त भएको आशंकामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका छन्।

एक अधिकारीका अनुसार सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकुहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकार गरिन्।

सन् २०१७ मा मोसुल शहरका लागि भएको लडाइँमा लडेको आरोपमा गत ज्यानुअरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो।

यसै महिनाको शुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो।