दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको केस बन्द

  • 27 फेब्रुअरी 2018
श्रीदेवी तस्वीर कपीराइट Getty Images

दुबई प्रहरीले बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गर्दै उनको मृत्युको केस बन्द गरेको छ।

प्रहरीका अनुसार गत शनिवार चवन्न वर्षीया श्रीदेवीको मृत्यु 'अचेत भएपछि दुर्घटनावश डुबेर' भएको थियो।

उनलाई दुबईस्थित आफू बसेको एउटा होटलको बाथटबमा भेटिएको थियो।

यसअघि उनको मृत्युको कारण 'कार्डिएक अरेस्ट' अर्थात् 'मुटुको चाल बन्द हुनु' भएको बताइएको थियो।

बलिवूड अभिनेत्री श्रीदेवीको निधन

श्रीदेवीको मृत्यु 'बाथटबमा डुबेर'

सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर भेला भएका छन्।

आफन्तको वैवाहिक कार्यक्रममा भाग लिन उनी सपरिवार दुबई गएकी थिइन्।

शवपरीक्षणको विवरण नआउँदासम्म दुबई प्रहरीले श्रीदेवीको शव राखेको थियो।

अभियोजनकर्ताहरूका अनुसार उनको मृत्युको परिस्थितिसँग सम्बन्धित विस्तृत अनुसन्धान सम्पन्न भएको छ।

तस्वीर कपीराइट AFP

तर शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

त्यसले प्रारम्भिक विवरणमा भनिएको कार्डिएक अरेस्ट र पछि भनिएको दुर्घटनावश डुबेर मृत्यु भएकोमा केही सम्बन्ध भए त्यसलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

श्रीदेवीले पाँच दशको अवधिमा झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्।

कुनै अभिनेताको सहयोगविनै चलचित्रलाई सफल बनाउने क्षमता भएकी अभिनेत्रीका रूपमा उनलाई लिइन्थ्यो।

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौथो ठूलो नागरिक सम्मान 'पद्मश्री'बाट विभूषित गरेको थियो ।

सम्बन्धित सामग्री