नुवाकोटको साततले दरबार पुनर्निर्माणमा ढिलाइ

  • 27 फेब्रुअरी 2018
नुवाकोटको साततले दरबार

भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्ष हुन लाग्दा पनि नुवाकोटस्थित पुरातात्त्विक महत्त्वको साततले दरबारको पुनर्निर्माण नहुँदा स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन्।

नेपाल सरकारले आफ्नै लगानीमा वा वैदेशिक सहयोगमा भए पनि दरबार पुनर्निर्माण गर्न नुवाकोटवासीले माग गरेका छन्।

तत्कालीन नुवाकोट राज्यमाथि विजय प्राप्त गरेको १५ वर्षपछि पृथ्वीनारायण शाहले विसं १८१६ मा यो दरबार निर्माण गराएका हुन्।

पछि यसलाई सङ्ग्रहालयका रूपमा विकसित गरिएको थियो।

चन्दननाथ मन्दिरको सुरक्षाको माग

पुरातात्विक सम्पदाको पुनर्निर्माण

गत २०७२ वैशाखमा गएका भूकम्पका कारण साततले दरबार र त्यसवरपर रहेका ऐतिहासिक धरोहरहरूमा ठूलो क्षति पुगेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयले जनाएको छ।

पुनर्निर्माणमा भएको ढिलाइले उक्त स्थानको पहिचान नै गुम्छ कि भन्ने आशङ्का व्यक्त गर्छन् श्याम नारायण डङ्गोल।

"जिल्लाको मात्र हैन, देशकै पहिचानको रूपमा साततले दरबार र यसको परिसरभित्र रहेको अन्य दरबारको पुनर्निर्माण नहुँदाखेरि यो स्थानको पहिचानै गुम्ने हो कि भन्ने हामीलाई डर लागिराखेको छ।"

स्थानीयवासीको जीविकासँग पनि जोडिएको हुँदा दरबार र अरू सम्पदाको पुनर्निर्माण भए सबैलाई लाभ हुने उनको धारणा छ।

चिन्ता

पहिले दैनिक दुई सय जनाभन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकहरू अवलोकनका लागि आउने गरेकोमा अहिले भने दरबार सुनसान देखिन्छ।

पुनर्निर्माणमा आगामी वर्ष झण्डै डेढ खर्ब

पुनर्निर्माण: नेतृत्व परिवर्तनप्रति चिन्ता र चासो

यसबाट स्थानीय व्यवसायीहरू पनि प्रभावित भएका छन्।

"...पहिला व्यापार राम्रो हुन्थ्यो। भुइँचालो गएदेखि धेरै मान्छे आउँदैनन्। पहिला त भ्याइनभ्याइ नै हुन्थ्यो," स्थानीय व्यवसायी कल्पना शाही भन्छिन्।

दरबारको ईँट्टाको गाह्रो चर्किएको र टेको लगाएको ठाउँबाट पनि ईँट्टाहरू झर्न थालेपछि जोखिम बढेको बताउँदै दरबार आसपासका स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन् ।

'पक्का हुन्छ'

नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयालले दरबार पुनर्निर्माणको लागि चिनियाँ सरकारले प्रक्रिया सुरु गरिसकेको बताउँछन्।

उनका अनुसार यसको विस्तृत लागत तीनचार महिनाअगाडि नै चिनियाँ इन्जिनियरहरूले गरिसकेका छन्। "पछि पनि त्यहाँका इन्जिनियर आएर रिपोर्ट लिएर गइसक्नु भएको छ।"

"हाम्रो काम पक्का हुन्छ।"

चिनियाँ पक्षसँग छलफल भइराखेको तर पुनर्निर्माण सुरु हुन केही समय अझै लाग्न सक्छ, फुयाल भन्छन्।

केही वर्षअघि मात्र राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकका लागि खुल्ला गरिएको साततले दरबार भूकम्पले क्षति पुर्‍याएपछि पर्यटकको जान छोडेपछि सुनसान बनेको हो।

सम्बन्धित समाचार