चीनः सी जिनपिङको वर्चस्व कहिलेसम्म?

  • सिलिया ह्याटन
  • सम्पादक, एसिया प्रशान्त
चीन

तस्बिर स्रोत, Getty Images

चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई वर्तमान कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ।

चिनियाँ राजनीतिमा यसलाई एउटा निर्णायक घडीका रूपमा हेरिँदैछ। धेरैले त्यस्तो घोषणा हुन सक्ने पहिल्यै लख काटिसकेका थिए।

राष्ट्रपति सी चीनको राजनीतिमा एक प्रभावशाली व्यक्तिका रूपमा स्थापित भइसकेका छन्।

शक्तिशाली

पार्टी, सेना र व्यापारी वर्गको उनलाई बलियो समर्थन छ। सीलाई चिनियाँ संस्थापक नेता माओ त्सेतुङपछिकै सबैभन्दा शक्तिशाली नेताको रूपमा हेर्न थालिएको छ।

उनको तस्वीर भएको होर्डिङ बोर्डहरू देशभर देख्न सकिन्छ।

पछिल्ला हप्ता करिब ८० करोड चिनियाँ नागरिकले टेलिभिजन कार्यक्रमहरूमा 'चीनको नयाँ सोचको युग' सम्बन्धी विज्ञापन हेरे।

दशकौंयता कम्युनिष्ट पार्टीले चीनमा शासन गर्दै आएको छ। विगतमा उच्च नेताहरूको हातमा निश्चित समयसम्म सत्ताको बागडोर हुने गर्थ्यो।

तस्बिर स्रोत, EPA

एक दशकपछि अर्को नेताले बागडोर सम्हाल्ने गर्थे। तर पद सम्हालेदेखि नै सीले कतिपय परम्परालाई तोड्दै आएका छन्।

उनले तत्कालै भ्रष्टाचारविरोधी एउटा अभियान थाले। उक्त कदमका कारण घुस लिने वा सरकारी रकम दुरुपयोग गर्ने भनिएका १० लाखभन्दा बढी पार्टी प्रतिनिधि अनुशासित भए।

प्रतिद्वन्द्वी

सोही अभियानअन्तर्गत सीका राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पनि उनको बाटोबाट हटाइयो र शंका व्यक्त गर्नेहरूको आवाज दबाइयो।

पद सम्हालेको शुरूका दिनमै राष्ट्रपति सीले आफ्ना राजनीतिक दृष्टिकोणहरू स्पष्ट पारेका थिए।

अन्तर्राष्ट्रिय व्यापार बढाउन उनले 'वान बेल्ट वान रोड' नामक महत्त्वाकांक्षी परियोजनालाई अगाडि सारिसकेका छन्।

तस्बिर स्रोत, EPA

सीले सन् २०२० सम्ममा चीनबाट गरिबी हटाउने घोषणा गरेका छन्।

लामो समयदेखि अड्कलबाजी गरिँदै आएको छ- सीले आफूलाई पदमा निरन्तरता दिन प्रयत्न गर्नेछन्।

सी जिनपिङ यति शक्तिशाली छन् कि पाँच वर्षपछि उनको स्थान कसले लिने भन्ने अनुमान गर्न पनि गाह्रो छ।

गत अक्टोबरमा पार्टीको एउटा महत्त्वपूर्ण बैठकले विद्यमान परम्परा तोड्दै सीको उत्तराधिकारीका रूपमा कसैको पनि नाम अघि सारेन।