श्रीदेवीको अन्त्येष्टिमा हजारौँ सहभागी

श्रीदेवीको अन्तिम बिदाइ

तस्बिर स्रोत, Getty Images

भारतीय अभिनेत्री श्रीदेवीको बुधवार राजकीय सम्मानका साथ मुम्बईमा अन्तिम संस्कार गरिएको छ।

उनलाई हजारौँ प्रशंसकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनको अन्त्येष्टिपूर्व मानिसहरू श्रीदेवीको शव राखिएको एउटा स्थानीय क्लबबाहिर गुलाफका फूलहरू बोकेर लामबद्ध भएका थिए।

बलिवूडकी यी चवन्न वर्षीया अभिनेत्रीको गत शनिवार दुबईमा निधन भएको थियो।

उनको पार्थिव शरीरलाई मङ्गलवार राति मुम्बई ल्याइएको थियो।

विशेष रूपमा सिँगारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर पर रहेको अन्त्येष्टि गर्ने स्थलमा लगिएको थियो।

शवयात्रा

बलिवूडका नाम चलेका कलाकारहरू पनि श्रीदेवीको मृत्युमा शोक व्यक्त गर्न अन्धेरी वेस्टस्थित सेलेब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए।

अन्त्येष्टि समारोहमा भाग लिन हजारौँ मानिसहरू उनको शव बोकेको ट्रक पछिपछि हिँडेका थिए।

मुम्बईका सडकमा ट्राफिक व्यवस्था भताभुङ्ग हुँदा उनको शवयात्रा अन्त्येष्टिस्थलतर्फ निकै सुस्त गतिमा अघि बढेको थियो।

भिडका कारण उनको शवलाई अन्त्येष्टिस्थलसम्म पुर्‍याउन दुई घण्टा लागेको थियो।

तस्बिर स्रोत, Getty Images

'केस बन्द'

श्रीदेवी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन सपरिवार दुबई गएकी थिइन्।

'अचेत भएपछि दुर्घटनावश डुबेर' चवन्न वर्षीया श्रीदेवीको मृत्यु भएको दुबई प्रहरीको भनाइ रहेको छ।

यसअघि 'कार्डिएक अरेस्ट' अर्थात् मुटुको चाल बन्द भएर उनको मृत्यु भएको बताइएको छ।

बसेको होटलको स्नानगृहमा रहेको बाथटबमा डुबेको अवस्थामा उनलाई भेटिएको थियो।

शवपरीक्षणको विवरण आएपछि दुबई प्रहरीले मङ्गलवार उनको मृत्युको केस बन्द भएको जनाएको थियो।

पाँच दशकमा श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकी थिइन्।

कुनै अभिनेताको सहयोगविनै चलचित्रलाई सफल बनाउने क्षमता भएकी अभिनेत्रीका रूपमा उनलाई लिइन्थ्यो।

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौथो ठूलो नागरिक सम्मान 'पद्मश्री'बाट विभूषित गरेको थियो ।