'राष्ट्रपति उम्मेदवारको टुङ्गो मङ्गलवारसम्म'

  • 2 मार्च 2018
राष्ट्रपति कार्यालय

वाम गठबन्धनकातर्फबाट नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपतिको पदमा उठाउने उम्मेदवारको नाम मङ्गलवार सम्ममा टुङ्गो लगाइने ती दलका नेताहरूले बताएका छन्।

यसअघि ती दुई दलबीच राष्ट्रपति र उपराष्ट्रपतिका अतिरिक्त प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभामुख/उपसभामुख तथा अध्यक्ष/उपाध्यक्ष पदमा समेत दुई दलको भागबण्डा मिले पनि व्यक्तिबारे चाहिँ निर्णय भइसकेको छैन।

तर संघीय समाजवादी फोरमलाई समेत सरकारमा सामेल गराउने कसरत सफल भएमा चाहिँ सो दलले पनि केही पदमा दाबी गर्न सक्ने ठानिएकाले उम्मेदवार चयनका लागि बढी समय लागेको बताइएको छ।

आगामी २९ गते राष्ट्रपति पदको निर्वाचनमा भाग लिनका लागि सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरूलाई राजधानी काठमाण्डूमा बोलाइ सकेको निर्वाचन आयोगले जनाएको छ।

सत्तापक्ष-फोरमबीच 'सिद्धान्तत: सहमति'

'सभापति देउवाविरुद्ध चुनाव लड्न सिंह तयार'

बाँडफाँट

आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आगामी सोमवार २१ गते मतदाता नामावली प्रकाशन गर्ने र त्यसको दुईदिनपछि उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका तय गरे पनि उम्मेदवारबारे कुनै टुङ्गो लाग्न नसकेको गठबन्धनका नेताहरूले बताएका छन्।

एउटै पार्टी बन्ने टुङ्गो लागे पनि दुवै दलका लागि उचित हुने गरी पदको बाँडफाँट गरिएको माआवादी केन्द्रका नेता अग्नी सापकोटाले बताए।

उनले भने, ''राष्ट्रपतिको उम्मेदवार एमालेले, उपराष्ट्रपतिको उम्मेदवार माओवादीले प्रस्ताव गर्ने, प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्र र उपसभामुख र राष्ट्रिय सभाको अध्यक्षमा एमालेले प्रस्ताव गर्ने टुङ्गो लागे पनि व्यक्तिबारे चर्चा चलेको छैन। फोरमसँगको वार्ता टुङ्गिएपछि अरू सबै टुङ्गो लाग्छ।''

इच्छा

हाल संसदमा ठूलो दल बनेको एमालेबाट राष्ट्रपति रहेकी विद्यादेवी भण्डारी र माओवादीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन दुवैले दोहोरिने इच्छा व्यक्त गरेको उनले बताए।

तर दोहोरिने सम्भावना ५० प्रतिशतमात्र रहेको उनको भनाइ छ।

ठूलो दलको हैसियतले राष्ट्रपतिमा एमालेको स्वाभाविक दाबी रहेको र उम्मेदवारको टुङ्गो पार्टीको स्थायी कमिटीले लगाउने एमालेका नेता प्रदीप ज्ञवालीले बताए।

उनले भने, ''व्यक्तिबारे टुङ्ग्याउने भन्ने छलफल हुन बाँकी छ। हामीले २३ गतेको मनोनयन दर्ता गर्नुभन्दा अगाडि २२ गतेतिर स्थायी कमिटीको वैठक बसेर हाम्रो तर्फबाट उम्मेदवारबारे औपचारिक धारणा बनाउछौं।''

हाल सरकारमा सहभागी हुन वार्तामा जुटेको संघीय समाजवादी फोरमले समेत प्रतिनिधि सभा र राष्ट्रिय सभाका उपसभामुख र उपाध्यक्ष जस्ता पदमा आकांक्षा व्यक्त गरेकाले उम्मेदवारीको टुङ्गो लाग्न ढिलाइ भएको कतिपय जनाकारको भनाइ छ।

सम्बन्धित सामग्री