वाम गठबन्धन: सांसदहरूलाई 'शिष्ट भएर प्रस्तुत हुन प्रशिक्षण'

  • 3 मार्च 2018
भेलामा सम्बोधन गर्दै प्रचण्ड तस्वीर कपीराइट CMPRACHANDA.COM

वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका संघीय संसद्का सदस्यहरूलाई संविधान र कानूनको अध्ययन गरेर निकै शिष्ट भएर संसद् बैठकमा प्रस्तुत हुन नेताहरूले आग्रह गरेका छन्।

दुई दलबीच एकता प्रक्रिया शुरू भएपछि बोलाइएको पहिलो संयुक्त संसदीय भेलामा प्रशिक्षण दिने क्रममा वाम गठबन्धनका सांसदहरूलाई संसद्को बैठकमा मोबाइल फोन चलाउन नहुने र पत्रपत्रिका पढ्न नहुने जस्ता विषयमा समेत सजग गराइएको थियो।

संघीय संसद्का सदस्यहरूको शपथ ग्रहणको पूर्वसन्ध्यामा वाम सांसदहरूलाई बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण दिइएको हो।

नयाँ संविधानअनुसार पहिलो पटक गठन भएको संघीय संसद्को पहिलो अधिवेशन नजिकिँदै गर्दा एकीकरण प्रक्रियाका प्रारम्भिक आधारबारे सहमति गरेका वाम गठबन्धनका दलहरूले सदनमा प्रस्तुत हुने विषयमा आन्तरिक प्रशिक्षण गरेका हुन्।

सुझाव

'प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव'

एकता रोक्ने र गठबन्धन तोड्ने कसरत: प्रचण्ड

नेकपा एमालेको संसदीय विभाग प्रमुख सुवास नेम्वाङका अनुसार प्रशिक्षणका क्रममा सांसदहरूलाई संविधान र संघीय संसदको कार्यविधि अध्ययन गर्ने सुझाव दिइएको थियो।

त्यसका अतिरिक्त सांसदहरूलाई संसद्को बैठकमा शिष्ट भएर प्रस्तुत हुन सिकाइएको थियो।

उनले भने, "कार्यविधि अनुसार सभामुखले निर्धारण गरेको स्थानमा बस्नु पर्छ। उदाहरणको लागि संसद्‌मा मोबाइल फोन चलाउन पाइँदैन र पत्रपत्रिका पढ्न पाइँदैन।"

विगतमा संविधानसभाको बैठकमा सांसदहरुद्वारा हुन गएका अमर्यादित मानिने क्रियाकलापका साक्षी समेत रहेका संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङले सांसदहरूलाई संसद्को बैठकमा कार्यविधि अनुसारै प्रस्तुत हुन प्रशिक्षण दिइएको बताए।

'अध्ययन'

उनका अनुसार नेपालको संसदीय नियम कानूनका अतिरिक्त छिमेकी भारत र अन्य देशका संसदीय नियम कानून पुस्तकालयमा गएर अध्ययन गर्ने सुझाव समेत सांसदहरूलाई दिइएको छ।

संसदीय दलको संयुक्त बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय संसदको भूमिका निकै महत्त्वपूर्ण हुनेमा जोड दिंदै आफ्ना सांसदहरूलाई निकै जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका थिए।

वाम गठबन्धनमा रहेका दुई दलको तर्फबाट संघीय संस‌द्‌मा आरामदायी बहुमत पुगेको छ। आइतवार संघीय संसदका सांसदहरुको शपथ ग्रहण हुने र सोमवार संसद्को पहिलो बैठक हुने कार्यक्रम छ।

सम्बन्धित सामग्री