संघीय संसद्का सांसदहरूद्वारा समृद्धि र विकासमा जोड

  • 4 मार्च 2018
शपथ ग्रहण तस्वीर कपीराइट RSS

संघीय संसद्का नवनिर्वाचित सदस्यहरूलाई दुवै सदनका ज्येष्ठ सदस्यले नयाँ बानेश्वरस्थित संघीय संसद्‌भवनमा छुट्टाछुट्टै पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

देशका विभिन्न वेशभूषा र मातृभाषामा शपथ लिएसँगै उनीहरूले विकास र समृद्धिको जनअपेक्षालाई पूरा गर्न अग्रसर रहने बताए।

आइतवार अपराह्ण राष्ट्रिय धुनसँगै सुरु भएको शपथ ग्रहण कार्यक्रमको प्रारम्भमै संघीय संसद्का महासचिवले नयाँ सांसदहरूलाई स्वागत गरेका थिए।

त्यसलगत्तै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्यलाई शपथ दिलाएका थिए।

आकर्षण

संघीय सांसदहरूलाई आज शपथ खुवाइँदै

त्यसको केही बेरमै राष्ट्रिय सभाकी ज्येष्ठ सदस्य नेपाली कांग्रेसकी तारादेवी भट्टले शपथ दिलाएकी थिइन्। शपथ लिएपछि सांसदहरूले सांसदको लोगो लगाए।

अधिकांश सांसद सदस्य दौरा-सुरुवाल र सारीमा सजिएका भएपनि केही सांसदहरूको जातीय पहिचान झल्किने पोशाक शपथ ग्रहणको आकर्षण बन्न पुगेको थियो।

तीमध्ये थारु पोशाकमा सजिएकी दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले नयाँ जिम्मेवारीले आफूलाई उत्साहित र चिन्तित भएको बताइन्।

उनले भनिन्, ''जनताले हामीबाट जुन अपेक्षा गर्न भएको छ, ती अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने एउटा ठूलो जिम्मेवारी हामीमा आएको छ। हामी जति उत्साही छौँ त्यति नै धेरै चिन्तित पनि छौँ।''

प्रतिनिधि सभामा २७५ जना सांसद निर्वाचित भएर आएपनि चार जना सांसद शपथ ग्रहणमा अनुपस्थिति रहे भने राष्ट्रिय सभाका ५५ जनाले शपथ लिएका हुन्।

अपेक्षा

तीमध्ये पहिलो पटक सांसद बनेका पर्साका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले आफूमाथि जनताको धेरै अपेक्षा रहेको बताए।

उनले भने,''जनताले मलाई संसद‌मा पुर्‍याए। जनताको मन्दिरमा आएको छु, निकै खुशी महसुस गरेको छु। ती जनताका निम्ति संविधान संशोधन गरेर अधिकार दिलाउने चुनौती पनि मलाई छ।''

प्रतिनिधिसभाका अर्का नवप्रवेशी बाजुराका लालबहादुर थापाले पनि सुदूरपश्चिमको समृद्धिका लागि वित्तीय स्रोत परिचालनमा केन्द्रबाट आफूले विशेष भूमिका निर्वाह गर्ने बताए।

उनले भने,''विगतमा महाकालीका दुर्गम जिल्लाहरूलाई काठमाण्डूमा हेर्ने नजर गलत थियो। अब समृद्धिका लागि वित्तीय स्रोत परिचालन गर्न केन्द्रीय तहबाट बलियो ढङ्गले आवाज उठाउने छु।''

शपथ ग्रहणपछि अधिकांश सांसदहरूले विकास र सृमृद्धिका लागि आफूहरू पाँच बर्ष दत्तचित्त भएर लाग्ने बताए तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय एकता मजबुत नभए समृद्धि नारामै सीमित हुने बताए।

अग्रसर

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्कीले भने,''अहिलेको आवश्यकता शान्ति र समृद्धि नै हो। तर यो केवल फलाकेर समृद्धि आउन सक्दैन। यसका निम्ति मूल रूपमा राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर अग्रसर गराउनुपर्छ।''

शपथसँगै संघीय संसद्लाई काम थाल्न बाटो खुलेको छ।

सोमवार दुवै सदनको पहिलो बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

संघीय संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार पहिलो बैठकमा संघीय संसद्को आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त हुने पत्र, मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने पत्रबारे जानकारी गराइने छ।

बैठकमा संघीय संसद्को अन्तरिम कार्यविधि पारित गरिने तथा सभामुख, उपसभामुख एवम् अध्यक्ष, उपाध्यक्षको निर्वाचनको तिथिमिति घोषणा गर्ने कार्यसूची रहेको बताइएको छ।