विद्या भण्डारीलाई नै राष्ट्रपति बनाउने एमालेको निर्णय

  • 7 मार्च 2018
पुन र भण्डारी तस्वीर कपीराइट PRESIDENTOFNEPAL.GOV.NP
Image caption राष्ट्रपति तथा उपराष्ट्रपति दुबैको कार्यावधि थप पाँच वर्षकालागि थपिने अपेक्षा गरिएकोछ

नेकपा एमालेले विद्यादेवी भण्डारीलाई वाम गठबन्धनका तर्फबाट पुन: उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी स्थायी कमिटी बैठकले सर्वसम्मतरुपमा उक्त निर्णय गरेको एमाले स्थायी कमिटिका एकजना सदस्य विष्णु पौडेलले बीबीसीलाई जानकारी दिए।

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा राखेका विवरणहरू आएका थिए।

उम्मेदवार

राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन सत्तासीन नेकपा एमाले स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मध्यरातीसम्म चलेको थियो।

वर्तमान राष्ट्रपतिलाई नै दोहो-याउने या नयाँ उम्मेदवार अगाडी सार्ने भन्ने बारेमा छलफल चलेको प्रधानमन्त्रीको प्रेस संयोजकका रुपमा काम गरिरेहका चेतन अधिकारीले बताए।

संविधान जारी भएसँगै निर्वाचित भएकी वर्तमान राष्ट्रपति भण्डारीले दोहोरिने चाहना व्यक्त गरेको बताइएपनि एमाले पार्टीको नेतृत्व सम्हालीसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा जनाएका थिए।

एमाले पार्टी अध्यक्ष निकट एक नेताका अनुसार भण्डारीले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गरेको र उनको भूमिका विवादमुक्त रहेको बताउँदै पार्टीका वरिष्ठ नेताहरुले उनलाई नै दोहोर्याउन ठिक हुने बताएका थिए।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ।

‘राष्ट्रपति-उपराष्ट्रपति दोहर्‍याउने मनस्थितिमा’

गणितिय हिसावले संसदमा कमजोर रहेपनि नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने संकेत गरेको छ।

नैतिक र राजनीतिक हिसावले भण्डारीलाई सहयोग गर्ने अवस्था नरहेको कांग्रेसका नेताहरुले बताउँदै आएका छन्।

निर्णय

तर त्यसवारे निर्णय गर्न बुधबार विहान केन्द्रिय समितिको बैठक बोलाईएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले भने, ''बाम गठबन्धनवाट कुन नाम कुन ढङ्गले प्रस्तावित हुन्छ सोही बमोजिम नेपाली कांग्रेसले निर्णय लिन्छ। संसदमा गणितिय हिसाबले हामी पछाडि नै छौं तर त्यसको बाबजुद पनि अहिलेको राजनीतिक प्रकृयाको सन्दर्भमा हामीले दिने उम्मेदबारीले एउटा निश्चित राजनीतिक सन्देश जाओस् भन्ने उद्देश्यका साथ बुधबारको केन्द्रिय कार्यसमितिको बैठकले यसवारे निर्णय गर्छ।''

राष्ट्रपति र उपराष्ट्रपति थप पाँच वर्षको निम्ति निर्वाचित हुनेछन्।

संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरिनुपर्ने संवैधानिक व्यवस्था छ।

तालिका

निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशको सर्वोच्च पदका लागि बुधवार उम्मेदवारी दर्ता हुँदैछ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि अढाई वर्षअघि भण्डारी देशको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

एमालेले राष्ट्रपति दोहोर्‍याएमा आफ्नो दल पनि उपराष्ट्रपतिलाई नै निरन्तरता दिने मनस्थितिमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरूले जनाएका छन्।

एमाले र माओवादी सम्मिलित वामपन्थी गठबन्धनको बहुमत रहेकाले निर्वाचनमा उनीहरूका उम्मेदवार विजयी हुने निश्चित जस्तो देखिएको छ।

राष्ट्रपतिको निर्वाचनको मतपरिणाम घोषणा भएको एक हप्ताभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा ६२ का अनुसार संघीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यहरू रहेको निर्वाचक मण्डलले मतदानमार्फत् राष्ट्रपति छान्नेछ।