संसदमा संविधान संशोधनको पक्षमा आवाज

  • 6 मार्च 2018
तस्वीर कपीराइट RSS
Image caption संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले पनि साथ दिने वचन दिएको छ

प्रतिनिधिसभाको मंगलवारको बैठकमा पहिलो पटक बोल्दै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले संविधान संशोधनको पक्षमा आवाज उठाएका छन्।

त्यसमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि साथ दिने वचन दिएको छ।

सत्तापक्षका एकजना प्रमुख नेताले पनि संशोधनको प्रतिबद्धता जनाएका छन्।

संघीय संसद्को पहिलो अधिवेशन: कार्यसूची के?

सांसदहरूद्वारा समृद्धि र विकासमा जोड

सोमवारदेखि शुरु भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तर्गत मंगलवारको बैठकमा सतारुढ र विपक्षी दलका शीर्षस्थ नेतालाई बोल्ने समय दिइएको थियो।

आग्रह

लामो समयसम्म संविधान संशोधनको माग गर्दै आन्दोलन गरेका राष्ट्रिय जनता पार्टीका तर्फबाट बोल्ने मौका पाएका उक्त दलका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले, उनकै शब्दमा, संविधानमा रहेको विभेद अन्त्य गर्न यो संसदको सदुपयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले भने, "संविधानमा यता उता भएको छ त्यसलाई ठिक गर्नुहोस। पहिले दुइ तिहाईको समस्या थियो, संशोधन भएन। अब त त्यो समस्या छैन। हामी दुई तिहाई पु-याउँछौं। प्रधानमन्त्रीज्यू, दिल खुल्ला गरेर अगाडि बढ्नुहोस्।"

सरकारसँग चरणबद्ध रुपमा वार्ता गरिरहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संशोधनको कुरा राखेका थिए।

उनले भने, "संविधानका कमीकमजोरीहरुलाई हटाएर, त्रुटिहरुलाई सच्च्याउँदै सबै समुदायले यो संविधान मेरो हो, यसमा मेरो हक सुरक्षित छ भनेर स्वामित्व ग्रहण गर्ने र यो मेरो संविधान भनेर गौरव गर्ने अवस्था सम्म पु-याउनु पर्दछ।"

संशोधन

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारका बेला नै संशोधनका लागि प्रयास गरिएको सन्दर्भ उल्लेख गर्दै वर्तमान सरकारले संशोधन अघि बढाएमा त्यसमा साथ दिने वचन दिए। उनले भने, "मधेशका समुदाय र दलहरुले उठाउँदै आएका विषयलाई सम्बोधन गर्न खोजेको सुन्दा खुसी लागेको छ, यसमा हाम्रो पुरा सहयोग हुने विश्वास दिलाउन चाहन्छु।"

सबै नेताहरुका संबोधनलाई निकै ध्यान पूर्वक सुनेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो दलकोतर्फबाट वरिष्ठ नेता माधव कुमार नेपाललाई बोल्न दिएका थिए।

लामो मन्तव्य दिएका नेता नेपालले संविधान संशोधनको प्रसङ्गै निकालेनन्। बरु संविधानले सबै जातजाति, समुदायलाई अधिकार दिएको उनले बताए।

तर वाम गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार संविधान संशोधनकालागि तयार भैसकेको बताए।

मागहरु

उनले भने, "प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट पनि पहिलेका आन्दोलनका मागहरुको चर्चा गर्दै छलफल गरेर एउटा गतिशिल दस्तावेजका रुपमा संविधान संशोधन गर्न हामी तयार छौं भन्ने अभिव्यक्ति आएको छ। यसले सबै वर्ग र समुदायकोबीचमा राम्रो एकताको सन्देश दिइसकेका छौं।"

संविधान संशोधनले संसदमा पाएको चर्चा जस्तै सरकार र संशोधनको माग गर्दै आएका दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका बीचमा लगातार वार्ताहरु भैरहेका छन्। जसमध्ये संघीय समाजवादी फोरम नेपालसँगको वार्ता निर्णायक चरणमा पुगेको ती दलका नेताहरुको भनाइ छ।