श्रीलंका: किन भयो संकटकालको घोषणा?

  • 7 मार्च 2018
श्रीलंका

मुसलमान र बहुसंख्यक सिंहला बौद्धमार्गीहरूबीच तनाव बढेपछि श्रीलंकाको क्यान्डी सहरमा थप फौज परिचालन गरिएको छ।

श्रीलंकामा भएका पछिल्ला हिंसा र सन् २०११ यता पहिलो पटक लगाइएको संकटकालबारे जान्नै पर्ने कुराहरू के छन्?

एक चर्चा।

अहिले किन हिंसा चर्किएको हो?

मध्यश्रीलंकाको लोकप्रिय पर्यटकीय गन्तव्य क्यान्डीमा ट्राफिकसम्बन्धी विवादका क्रममा केही मुसलमानहरूको कुटपिटबाट एक जना बौद्धमार्गीको ज्यान गएपछि पछिल्लो कलह सुरु भएको हो।

अघिल्लो हप्ता पूर्वी सहर अम्परामा एक जना मुसलमानको पसलमा भएको विवादका क्रममा मुसलमान विरोधी प्रदर्शन भयो। तर त्यसअघि पनि उक्त क्षेत्रमा तनाव र हिंसा भएका थिए।

सन् २०१४ मा दक्षिण-पश्चिममा भएका हिंसामा चार जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।

कट्टर बौद्धमार्गी समूहको भूमिका कस्तो छ?

सन् २०१७ मा जस्तै अहिले पनि बौद्धभिक्षुहरूले तनाव फैलाइरहेको आरोप खेपिरहेका छन्।

समाजिक सञ्जालमा एक जना अग्रणी कट्टर बौद्धभिक्षुले क्यान्डीमा बौद्धमार्गी र मुसलमानहरू बीचको तनाव मत्थर पार्ने प्रयास गरेका अर्का भिक्षुलाई हप्काएको भिडियो सार्वजनिक भएको थियो।

पूर्वराष्ट्रपति राजपाक्षेको कार्यकालमा एउटा समूह 'बोदु बाला सेना'ले तनाव बढाउने गरी नियमित रूपमा मुसलमानविरोधी र्‍याली आयोजना गरेको बताइन्छ।

के मुसलमान समुदायमा पनि कट्टरपन्थी तत्त्वहरू छन्?

श्रीलंकामा देशको कुल जनसंख्याको ९ प्रतिशत मुसलमानहरू छन्।

पछिल्ला वर्षहरूमा उनीहरु धार्मिक रूपमा अझ रूढीवादी हुन थालेको अरूलाई लाग्ने गरेको छ।

यसो हुनुमा कडा प्रकृतिको इस्लाम धर्मको बढ्दो प्रभाव भूमिका रहेको विश्वास गरिन्छ।

केही मस्जिद र मदरसाहरूले साउदी अरेबिया वा अन्य खाडी मुलुकहरूबाट सहायता पाइरहेको भन्ने गरिन्छ। तर कतिले त्यस्तो सहयोग पाएका छन् भन्ने स्पष्ट छैन।

के सामाजिक सञ्जालले हिंसा चर्काउन भूमिका खेलेको छ?

आक्रमणलाई समर्थन गर्न र हल्ला फिजाउँन फेसबुकको प्रयोग भइरहेको छ।

सरकारमै भएका केहीले समाजिक सञ्जालमा अपवाह र घृणा फैलाउने खालका सन्देशहरू आएको बताएका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसद्‌मा मंगलवार बोल्दा पनि उक्त विषयलाई औँल्याएका थिए।

सरकारले किन संकटकाल लगाउन आवश्यक ठान्यो?

क्यान्डीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि हिंसात्मक गतिविधिहरू भएका थिए।

त्यही भएर राजनीतिज्ञहरूले प्रहरी शान्ति सुव्यवस्था कायम गर्न विफल भएको वा उसले त्यसो गर्न नचाहेको भन्ठानेका छन्।

त्यसैले हिंसा थप फैलिन नदिन उनीहरूले सेनालाई परिचालन गर्नु आवश्यक ठानेका हुन्।

त्यसले थप समस्या निम्त्याउने प्रयास गरिरहेकाहरूलाई पनि एउटा सन्देश दिन खोजेको छ।

देशमा सन् २०११ यता पहिलो पटक संकटकाल लगाइएको हो।

अहिलेसम्म संकटकाललाई लिएर अन्तर्राष्ट्रिय प्रतिक्रिया के आएको छ?

अहिलेसम्म कोलम्बोमा रहेका अमेरिकी र ब्रिटिश दूतावासले हिंसाबारे आफ्ना चासोहरू व्यक्त गरेका छन्।

कोलम्बोमा रहेको आर प्रेमादासा रंगशालामा सुरक्षा बढाइएको छ। कोलम्बोमा श्रीलंका, बांग्लादेश र भारत सम्मिलित क्रिकेट प्रतियोगिता भइराखेको छ।

उक्त रंगशाला कोलम्बोमा मुसलमानहरूको बाहु्ल्य भएको क्षेत्रमा रहेको छ।

सम्बन्धित समाचार