अमेरिकाले कर लगाए युरोपले बदला लिने?

  • 7 मार्च 2018
ट्रम्प तस्वीर कपीराइट Getty Images

युरोपेली युनियनले अमेरिकाले स्टील तथा एलुमिनियम आयातमा चर्को कर लगाउने निर्णय कार्यान्वयन गरे आफूले बदलास्वरुप अमेरिकी वस्तुहरुमाथि निशाना लगाउन ती वस्तुको सूचीमाथि विचार गरिरहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील तथा एलुमिनियमको आयातमा चर्को कर लगाउने घोषणा गरेका थिए।

युरोपेली कारमा कर लगाउने ट्रम्पको चेतावनी

‘अमेरिकी व्यापारिक साझेदारहरू क्रुद्ध’

निशाना

युरोपेली युनियनकी व्यापार आयुक्त सेसिलिया माल्मस्टर्मले सुन्तलाको जुस, पिनट बटर तथा बोर्बन ह्विस्कीका केही प्रकारजस्ता वस्तुलाई इयुले निशानामा पार्न सक्ने बताइन्।

अमेरिकी राष्ट्रपतिले चर्को आयात कर लगाउने विषयलाई राष्ट्रिय सुरक्षासँग जोडेकोमा पनि उनले आपत्ति प्रकट गरिन्।

अमेरिकी राष्ट्रपतिको योजनाले सबभन्दा बढी मार उसकै सहयोगी तथा साझेदार राष्ट्रहरुलाई पर्ने भन्दै उनले ती मुलुकले अमेरिकी राष्ट्रिय सुरक्षामा कहिल्यै खतरा नपारेको बताइन्।

"हामीले बुझेका छैनौं कसरी युरोपेली साझेदार, मित्र तथा नेटोका सदस्य राष्ट्रहरु अमेरिकाका निम्ति सुरक्षा खतरा हुन सक्छन् भनेर। त्यसो भनिनु निकै अन्यायपूर्ण हुन्छ," इयुकी व्यापार आयुक्त माल्मस्टर्मको भनाइ।

विरोध

राष्ट्रपति ट्रम्पको उक्त प्रस्तावले देशभित्र तथा बाहिर चर्को विरोध खेपिरहेको छ।

उनका वरिष्ठ आर्थिक सल्लाहकार ग्यारी कोनले सो प्रस्तावप्रति असहमति व्यक्त गर्दै राजीनामा दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली युनियनको व्यापार सम्बन्धी नियमहरुले अमेरिकी कम्पनीलाई उनीहरुसँग व्यापार गर्न असम्भव बनाएको बताए।

आयातमा करहरु बढाउने राष्ट्रपति ट्रम्पको घोषणा

ह्वाइट हाउसमा स्वीडेनका प्रधानमन्त्रीलाई भेट्दै ट्रम्पले कर लगाउने योजनाको बचाउ गरे र अन्य देशले अमेरिकाबाट दशकौंदेखि लाभ उठाइरहेको बताए।

स्वीडिस प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली युनियन संयुक्त राज्य अमेरिकासँग निकै कठोर भएको बताएका थिए।

ट्रम्पले यदि इयुले बदला लिए अमेरिकाले युरोपेली गाडीहरुमा २५ प्रतिशत कर लगाउने बताए।

ट्रम्पले उनको योजनाविरुद्ध आपत्ती जनाएका अमेरिकी व्यापार साझेदारहरुले उनीहरूको निर्णयलाई धेरै मनपराउने र इज्जत गर्ने बताए।

सबैजसो साझेदारसँगको व्यापारमा नोक्सानी भइरहेकाले अमेरिकाका लागि व्यापारिक युद्ध राम्रो हुने र उसले त्यसलाई सजिलै जित्ने ट्रम्पले दोहोर्‍याए।

स्टीलमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाउने ट्रम्पको गत हप्ताको घोषणाले विश्वभर कडा प्रतिक्रियाहरु आएका छन्।