सभामुखमा महरा उपयुक्त, त्यसैले सहयोग: कांग्रेस

  • 9 मार्च 2018
महरा तस्वीर कपीराइट RSS
Image caption अरू कसैको उम्मेदवारी नपरेको हुँदा महरा निर्विरोध निर्वाचित हुने भएका छन्

राष्ट्रपति पदमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरालाई परोक्ष सहयोग गरेको छ।

अरू कसैको उम्मेदवारी नपरेको हुँदा महरा निर्विरोध निर्वाचित हुने भएका छन्।

हार्ने निश्चित हुँदाहुँदै वाम गठबन्धनकी उम्मेदवार एवम् बहालवाला राष्ट्रपतिविरुद्ध उम्मेदवार उठाएको नेपाली कांग्रेस किन सभामुखको निर्वाचनमा मौन बस्यो त?

"आफूले गर्नु पर्ने काम नगरेर विवादित काम गरेको व्यक्तिलाई नै पुन: राष्ट्रपतिमा वाम गठबन्धनले उम्मेदवार बनाएकाले हामीले आफ्नो उम्मेदवारी दिएका थियौँ," कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

उनका अनुसार सभामुखमा 'संसद्को अभिभावकको भूमिका निभाउन सक्ने उपयुक्त व्यक्ति उम्मेदवार' भएकाले कांग्रेसले सहयोगी भएर 'संसद्लाई एकताबद्ध बनाएर जाने निर्णय' गरेको हो।

निर्वाचनका लागि शनिवार अपराह्ण १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमार्फत् संघीय संसद्को सचिवालयले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ।

को हुन् महरा?

महराले नयाँ संविधान जारी भएपछिको दोस्रो सभामुखका रूपमा शनिवारदेखि नै आफ्नो कार्यकाल सुरु गर्ने छन्।

संयोगवश उनी पनि पूर्वसभामुख ओनसरी घर्ती जस्तै रोल्पामै जन्मिएका हुन्।

तस्वीर कपीराइट RSS
Image caption उम्मेदवारी दर्तालगत्तै संचारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै महराले संविधानअनुकूलका कानुन निर्माणमा आफूले भूमिका निभाउने बताए

विक्रम सम्वत् २०१५ असारमा रोल्पाको लिवाङमा जन्मिएका महरा विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका थिए।

पूर्वशिक्षक समेत रहेका महरा २०४८ सालमा पनि संयुक्त जनमोर्चाबाट सांसद भएका थिए।

त्यसपछि सशस्त्र विद्रोहमा होमिएका उनी २०६३ पछि पुनर्स्थापित संसद्‌मा फेरि आए।

दुई पटक नै संविधानसभा निर्वाचन जितेका उनले यसपटक दाङ जिल्ला क्षेत्र नम्बर २ बाट जितेका हुन्।

'असन्तुष्टि'

पटकपटक उपप्रधानमन्त्रीदेखि आकर्षक मन्त्रालयका जिम्मेवारी लिएका महरा माओवादी शान्तिप्रक्रियामा आएपछि पद पाइराख्ने माओवादी नेतामध्ये अग्रपंक्तिमा रहेका मानिन्छन्।

शुक्रवार बिहान बसेको पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा महरालाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन्।

महरालाई छानिएकोमा माओवादीभित्र केही असन्तुष्टि देखिएको केही नेताहरू बताउँछन्।

तर भुषालले भनिन्, "त्यस्तो हैन, हामी पनि भए हुन्थ्यो भन्ने केही नेताहरू पनि हुनुहुन्थ्यो। महराजीले आफू बन्छु भन्नु भयो। अनि अध्यक्षले नै प्रस्ताव ल्याउनु भयो। सबैको सहमतिमै निर्णय भएको हो।"

उम्मेदवारी दर्तालगत्तै संचारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै महराले संविधानअनुकूलका कानुन निर्माणमा आफूले भूमिका निभाउने बताएका छन्।