‘बोक्सी भन्दै पिट्नेलाई उन्मुक्ति दिइँदैन’

  • 11 मार्च 2018
कैलाली

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा एक युवतीमाथि 'बोक्सी'को आरोपमा कुटपिट गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिएका छन्।

बिहीवार घोडाघोडी नगरपालिकाको देउकलियामा उक्त आरोपमा १८ वर्षीया राधा चौधरी निर्घात रूपमा पिटिएकी थिइन्।

त्यसको तीन दिनपछि आइतवार सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश लेख्दै कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको उल्लेख गरेका हुन्।

उनले उक्त घटनालाई 'जघन्य अपराध' का रूपमा व्याख्या गर्दै त्यसमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिइएको जनाएका हुन्।

‘बोक्सी’ भन्दै कुट्नेविरुद्ध प्रहरीमा उजुरी

आसाममा बोक्सीको आरोपमा महिलाको हत्या

कारबाही

उनले लेखेका छन्, "यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन। राधाको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नेछ।"

पीडित राधा चौधरीले भविष्यमा आफूले भोगेको जस्तो पीडा अरूले नबेहोर्ने कुरा सुनिश्चित गर्न पीडकहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरेकी छन्।

विभिन्न पत्रपत्रिकामा उक्त घटना मिलाउन घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी समेत लागेको विवरण आएका थिए।

तर चौधरीले एउटा विज्ञप्ती जारी गर्दै नगरपालिकाका कुनै पनि निर्वाचित प्रतिनिधि त्यस्ता काममा नलागेको र पीडकलाई कानून बमोजिम कारबाही हुनुपर्ने पक्षमा नगरपालिका दृढ रहेको उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री