ट्रम्पद्वारा अमेरिकी विदेशमन्त्री पदमुक्त

  • 13 मार्च 2018
रेक्स टिलरसन तस्वीर कपीराइट Reuters
Image caption टिलरसन गएको वर्ष मात्र सो पदमा नियुक्त भएका थिए

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाएका छन्।

उनको स्थानमा ट्रम्पले अमेरिकी गुप्तचर निकाय-सीआइएका निर्देशक माइक पोम्पेओलाई नियुक्त गर्नेछन्।

सामाजिक संजालको वेबसाइट ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले रेक्स टिलरसनलाई "उनले पुर्‍याएको सेवाका लागि" भन्दै धन्यवाद दिए।

साथै नयाँ विदेशमन्त्रीले "एकदमै राम्रो" काम गर्ने पनि ट्रम्पले उल्लेख गरे।

टिलरसन गएको वर्ष मात्र सो पदमा नियुक्त भएका थिए।

चर्चा

मंगलबार एक वक्तव्य दिंदै टिलरसनले आफ्नो कार्यकालमा अमेरिकाको विदेश मन्त्रालयले गरेका कामहरुको चर्चा गरेकाथिए।

विदेश मन्त्रालयमा बोल्दै उनले सिरियामा थप काम गर्न बाँकी रहेको बताए।

उनले उत्तर कोरियाबारे सोचे भन्दा बढी प्रगति भएको बताए।

उनले रुस सरकारको गतिविधिको पनि आलोचना गरे।

तर उनले आफुलाई अकस्मात् हटाएकोमा राष्ट्रपति ट्रम्पको आलोचना गरेनन्।

उनले संवाददाताहरुको कुनै प्रश्न लिएनन्।

सहमत

टिलरसनले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरलाई विष दिइएको घटनामा रुसको हात हुनसक्ने भन्ने ब्रिटेनको अनुमानमा आफू पनि सहमत भएको र उक्त घटनामा जिम्मेवारहरूलाई दण्ड दिइनु पर्ने भनी सोमवार एक अभिव्यक्ति दिएका थिए।

यसैबीच राष्ट्रपति ट्रम्पले सीआइएको निर्देशक पदमा जिना ह्यास्पेलको नियुक्तिको घोषणा गरेका छन्।

सीआइएको निर्देशकको पदमा नियुक्त हुने उनी पहिलो महिला हुन्।