ब्रिटेन: रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोलिने

  • 15 मार्च 2018
ब्रिटेन तस्वीर कपीराइट PA

ब्रिटेन सरकारले ७ करोड डलर लगानी गरेर एउटा नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ।

आधुनिक प्रतिरक्षा कार्यक्रमको एउटा हिस्साको रूपमा यो केन्द्र दक्षिणी ब्रिटेनस्थित पोर्टन डाउनमा स्थापना हुनेछ।

पूर्व रुसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायुप्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न वैज्ञानिकहरूले उक्त केन्द्रमा मद्दत गर्नेछन्।

ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रुसबाट मात्रै नभई उत्तर कोरियाजस्ता देशबाट पनि भएकोबारे सचेत गराउने तयारी गरेको छ।

खोप

सावधानी स्वरूप हजारौँ ब्रिटिस फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइने छ।

पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो।

यसैबीच ब्रिटेनले २३ जना रुसी कूटनीतिज्ञहरूलाई निष्काशित गरेको छ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले साल्सबरीमा रुसका पूर्वगुप्तचरमाथि स्नायुप्रणालीमा असर गर्ने रसायन प्रयोग भएकोबारे व्याख्या गर्न ती कूटनीतिज्ञहरूले अस्वीकार गरेपछि उनीहरूलाई निष्काशित गरिएको बताएकी हुन्।

सुरक्षा परिषद्

ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आफ्नो शान्त सहरमा रुसले युद्धमा पनि प्रतिबन्ध लगाइएको घातक अस्त्र प्रयोग गरेको बताएको थियो।

तस्वीर कपीराइट EPA/ YULIA SKRIPAL/FACEBOOK

रूसले भने ती पूर्व जासुसको हत्या प्रयास गरेको आरोप अस्वीकार गर्दै उपयुक्त ढंगले त्यसबारे प्रतिक्रिया दिने जनाएको छ।

यसैबीच अमेरिकी सरकारले ब्रिटेनको सोल्सबरी सहरमा स्नायुप्रणालीमा असर गर्ने रसायनबाट आक्रमण गरिएको विषयमा ब्रिटेनलाई पूर्ण समर्थन व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सुरक्षा परिषद्लाई पूर्वगुप्तचर र उनकी छोरीमाथि भएको आक्रमणमा रुसको हात भएको अमेरिकाले लागेको बताइन्।

जर्मनीले पनि आफ्नो समर्थन ब्रिटेनप्रति जनाएको छ । तर फ्रान्सले भने रुसलाई दोष लगाउनुअघि आफूले थप प्रमाणहरू हेर्न चाहेको बताएको छ।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नबान्जियाले भने उक्त आक्रमणमा रुसको संलग्नता नरहेको जनाएका छन्।

पूर्व रूसी जासुस ब्रिटेनमा गम्भीर बिरामी

सम्बन्धित सामग्री