जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो...

  • 16 मार्च 2018
पृथुला तस्वीर कपीराइट Facebook

पच्चीस वर्षीया पृथुला रशिदका लागि सह-चालकका रूपमा त्यो दोस्रो अन्तर्राष्ट्रिय उडान थियो।

उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान पनि काठमाण्डूमै गरेकी थिइन्।

उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन्।

बीबीसी बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् - उनका बुवा-आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन।

जोखिम

उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
दुर्घटनामा परी बाँचेका घाइते के भन्छन्?

रहमानले भनिन्, "उनले यो पेसा अँगालेदेखि नै यस्तो प्रकारको जोखिम हुन्छ भन्ने हामीलाई थाहा थियो। तर उनी आफ्नै रुचिका कारण विमानचालक बन्न पुगिन्।"

तस्वीर कपीराइट Facebook

पृथुला रशिद निकै जिज्ञासु स्वभावकी थिइन्।

उनी विभिन्न विषयबारे जान्न चाहन्थिन्।

मायालु

तासामिन रेहमान ओमीले रशिदको मन एकदम कमलो भएको र उनले घरमा खरायो र माछा पालेकी पनि बताइन्।

रशिदले सडकका भुस्याहा कुकुरहरूलाई पनि धेरै माया गर्ने गरेको बताउँदै ओमीले भनिन्, "सानो छँदा उनले आफ्नो बुवाको इन्हेलरको प्रयोग गरेर सासको समस्या भएको कुकुरको उपचार गर्ने प्रयास गरेकी थिइन्।"

"उनको उपस्थिति नै अरूलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो। कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुसी हुन सक्थ्यो।"

सोमवार काठमाडौं मेडिकल कलेजले यूएस-बांग्ला विमान दुर्घटनामा मृत्यु हुनेमा सह-चालक पृथुला रशिद पनि रहेको पुष्टि गरेको थियो।