नेपाल: वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति सुस्त

  • 16 मार्च 2018
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्वीर कपीराइट TIA

देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणको चाप दिनानुदिन बढ्दै गएका बेला नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने लक्ष्य अनुरूप हुन नसकेको अधिकारीहरूले बताएका छन्।

गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेपनि मुख्य विकल्प हुने ठानिएको निजगढ विमानस्थल हालसम्म कस्तो बनाउने भन्ने नै तय नभएको उनीहरूको भनाइ छ।

सरकारले बारा, भैरहवा र पोखरामा निर्माण गर्न लागिएका विमानस्थलहरूलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ।

त्रिभुवन विमानस्थलमा दैनिक अन्तर्राष्ट्रिय र आन्तरिक गरेर औसतमा ४०० पटक विमानले उडान र अवतरण गर्ने गरेको तथ्याङ्क विमानस्थल व्यवस्थापनसँग छ।

'राष्ट्रिय गौरव'

एउटा मात्रै धावन मार्ग रहेको उक्त विमानस्थलको चाप उच्च रहेको बताउने गरिएको छ।

पछिल्लो समयमा काठमाण्डूमा अवतरणका लागि विमानहरूले आकाशमै कुर्नुपर्ने समय पनि लम्बिँदै गएको विमान कम्पनीहरूले बताउने गरेका छन्।

तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प हुने ठानेर निर्माण सुरु गरिएका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलको काम अपेक्षा गरेजस्तो हुन सकेको देखिँदैन।

नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारीले भने, "अबको डेढ वर्षमा गौतम बुद्ध विमानस्थल बन्छ, साढे तीन वर्षमा पोखराको विमानस्थल निर्माण हुन्छ। र निजगढ कस्तो बनाउने भन्ने नै तय भएको छैन्। कस्तो बनाउने? कसरी बनाउने र आर्थिक स्रोत के हुने भन्ने निर्णय भएको छैन। त्यो निधो भयो भने कति वर्षमा बन्छ भन्न सकिन्छ।"

सरकारले तीन वटै विमानस्थल निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ।

हाल सबैभन्दा धेरै काम भएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१७ मा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको थियो।

निर्माण कम्पनीकै कारण उक्त आयोजना पूरा गर्ने मिति सर्दै गएको निर्देशक अधिकारीको भनाइ छ।

तस्वीर कपीराइट CIVIL AVIATION AUTHORITY

गत वर्ष चीनसँग ऋण सम्झौता गरेर सुरु गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि मुआब्जा वितरणको काम भइरहेको बताइएको छ।

भौतिक निर्माणको काम १० प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ।

निजगढ

असी वर्ग किलोमिटर क्षेत्रलाई विमानस्थल निर्माण क्षेत्र घोषणा गरिएपनि निर्माणको चरणसम्म पुग्न नसकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक काम केही महिनामै अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताएका छन्।

उनले भने "यसलाई अघि बढाउनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन तयार पार्ने, सार्वजनिक सुनुवाइ गर्ने र मुआब्जा बुझाउने कामहरु तीव्र गतिमा भइरहेका छन्। यसलाई कस्तो बनाउने भन्ने तय गरेर निर्माणको काम चाँडै सुरु हुन्छ।"

बेलाबेला हुने गरेका दुर्घटना अनि हवाई ट्राफिक जामका बेला चर्चा हुने सबैभन्दा ठूलो निजगढ विमानस्थल निर्माणका लागि तत्काल सरकारको स्पष्ट प्रतिबद्धता र योजना आवश्यक पर्ने स्वयं निर्माणको जिम्मेवारी पाएका अधिकारीहरूको भनाइ छ।

वातावरणीय प्रभाव मूल्याङ्कन, मुआब्जा वितरण लगायतका सबै प्रक्रिया पूरा गरेर निर्माणको काम मात्रै गर्न कम्तीमा थप चार वर्ष लाग्ने उनीहरुको भनाइ छ।

सम्बन्धित समाचार