नेपाली क्रिकेटलाई विश्वभरिबाट बधाई

  • 16 मार्च 2018
नेपाली टोली तस्वीर कपीराइट COURTESY: RAMAN SHIWAKOTI

जिम्बाब्वेमा विश्वकप क्रिकेट छनोट प्रतियोगितामा बिहीवार पपुआ न्यूगिनीलाई हराएर एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरिबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपालले क्रिकेटमा हात पारेको उपलब्धि प्रमुख चर्चाको विषय बनेको छ।

देश-विदेशका चर्चित व्यक्तिहरू र क्रिकेटसँग सम्बद्ध निकायहरूले नेपालको सफलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको उपलब्धिलाई ऐतिहसिक भन्दै नेपाली खेलाडीहरूले खुसी हर्षोल्लास गरेको क्षणलाई आफ्नो ट्विटर र फेसबुक खाताको मुख्य तस्वीर बनाएको छ।

प्रशंसा

तस्वीर कपीराइट usa cricket

विभिन्न देशका क्रिकेट हेर्ने निकायहरूले पनि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

त्यसरी बधाई दिनेमा बांग्लादेश र संयुक्त राज्य अमेरिकाका क्रिकेट बोर्डहरू पनि रहेका छन्।

विश्व क्रिकेटमा नाम चलेका कैयौँ खेलाडीहरूले नेपाली टोलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राखेका छन्।

अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सम्बोधन गर्दै ट्विटरमा आफूलाई खुसी लागेको र यो नेपालको लागि गौरवपूर्ण क्षण भएको उल्लेख गरेका छन्।

तस्वीर कपीराइट PAras khadka

त्यसैगरी पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले नेपाललाई बधाई दिँदै लेखेका छन्, "एकदिवसीय मान्यता पाएकोमा नेपाललाई बधाई, कति लोभलाग्दो यात्रा।"

आयरलण्डका चर्चित क्रिकेटर केभीन ओ ब्रायनले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सम्बोधन गर्दै बधाई दिएका छन्। उनले लेखेका छन्, "म आफ्नो र नेपालको पहिलो प्रतियोगिताको प्रतीक्षा गरिरहेको हुनेछु।"

मेहनत

नेपाली कप्तान पारस खड्काले सबै समर्थकहरूलाई धन्यवाद दिएका छन् र वर्षौंको संघर्ष, त्याग, प्रतिबद्धता र मेहनतले यो उपलब्धि हासिल भएको उल्लेख गरेका छन्।

तस्वीर कपीराइट ICC

उनले नेपाली किक्रेटको 'अद्‌भूत यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन्।"

हालैका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली युवा खेलाडी सन्दीप लामिछानेले वर्षौँको कडा परिश्रमले एकदिवसीय राष्ट्रको मान्यता प्राप्त भएको उल्लेख गरेका छन्।

उनले नेपाली क्रिकेटको अहिलेसम्मको यात्रा सुनौलो भएको भन्दै वर्षौँको धैर्य र मेहनतले यो उपलब्धि हासिल भएको बताएका छन्।

सन्दीपको भारतीय व्यावसायिक क्रिकेट लिग आइपिएल टोली दिल्ली डेयरडेभिल्स र उनले सहभागिता जनाउन लागेको क्यारिबियन क्रिकेट लिगले पनि एकदिवसीय मान्यताका लागि नेपाललाई बधाई दिएका छन्।

नेपाली क्रिकेट टोलीलाई सामाजिक सञ्जालमार्फत् पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवा, बाबुराम भट्टराईसहित अन्यले सामाजिक सञ्जालमा बधाई दिँदै पछिल्लो उपलब्धिले खेलुकद क्षेत्रमार्फत् नेपाललाई विश्वमा चिनाएको जनाएका छन्।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार