भारत: मानवतस्करीमा दलेर मेहन्दी दोषी ठहर

  • 16 मार्च 2018
दलेर मेहन्दी सन् २००३ मा तस्वीर कपीराइट Getty Images

भारतका चर्चित पप गायक दलेर मेहन्दीलाई मानवतस्करीको मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएको छ।

मेहन्दीसमेत सात जनालाई सन् २००३ मा मानिसहरूलाई पश्चिमी देशहरूमा लग्ने झुठो आश्वासन दिएर ठूलो रकम ठगेको आरोप लागेको थियो।

पन्जाब प्रान्तको एउटा अदालतले मेहन्दीलाई शुक्रवार दोषी ठहर गरेको हो। तर उनी तुरुन्तै धरौटीमा रिहा भए।

मेहन्दी सन् १९९० को दशक र सन् २००० को दशकको पूर्वार्धमा एकदम लोकप्रिय थिए। उनलाई विदेशमा पनि मन पराइन्थ्यो।

आरोप

सन् १९९८ र १९९९ मा उनले दश जना आप्रवासीहरूलाई आफ्नो नृत्यटोलीको सदस्यका भेषमा संयुक्त राज्य अमेरिका लगेर छोडिदिएको बताइएको थियो।

प्रहरीले पन्जाबमा उनीविरुद्ध मुद्दा चलाएपछि ३५ जनाले उनलाई ठगीको आरोप लगाएका थिए।

उनीहरूले मेहन्दीले आफूहरूबाट विदेश लगिदिने भनी पैसा लिएको तर नलगेको बताएका थिए।

आजको फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने मेहन्दीले बताएका छन्।

विशेषता

उनले बलिवूडका चलचित्रहरूमा पनि गीत गाएका छन्।

तर उनको विशेषता भने पन्जाबी शैलीको भाँगडा पप नै हो।

उनको गीतको पहिलो संग्रह दुई करोड प्रति बिक्री भएको बताइन्छ।

उनले संयुक्त अधिराज्य, अमेरिका र सिङ्गापुर लगायत १८ देश पुगेर कार्यक्रम प्रस्तुत गरेका छन्।