थपिए १५ मन्त्री, कुल २२ मध्ये चार मात्र महिला

  • 16 मार्च 2018
शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले ११ मन्त्री र चार राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्।

राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आजको विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ।

त्यसमा नेकपा एमालेबाट प्रधानमन्त्रीसमेत १४ र नेकपा माओवादी केन्द्रबाट आठ सदस्य छन्।

प्रधानमन्त्री ओलीले सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने आफूसँगै राखेका छन्।

को को बने?

एमालेबाट मन्त्री हुनेमा पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट छन्।

ज्ञवालीलाई परराष्ट्र र बिष्टलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै रवीन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, जगत् विश्वकर्मालाई युवा तथा खेलकुद र शेरबहादुर तामाङलाई कानुन मन्त्री बनाइएको छ।

माओवादी केन्द्रबाट वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि, चक्रपाणि खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी र बीना मगरले खानेपानी मन्त्रालयको जिम्मा पाएका छन्।

एमालेबाट राज्यमन्त्री नियुक्त पद्माकुमारी अर्यालले स्वास्थ्य तथा जनसङ्ख्या, गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जिम्मेवारी पाएका छन्।

माओवादी केन्द्रबाट रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनेकी छन्।

यसअघि माओवादीले रामबहादुर थापा र मातृका यादवलाई मन्त्री बनाइसकेको छ।

पहिला वातावरण तथा जनसङ्ख्याको जिम्मेवारी पाएका लालबाबु पण्डितले अब सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने छन्।

हिला न्यून

राज्यका महत्त्वपूर्ण अङ्गमा समावेशी समानुपातिक आधारमा प्रतिनिधित्व हुनु पर्ने संविधानको मर्म भएको तर्क गरिएको भए पनि मन्त्रिपरिषद्‌मा दुई मन्त्री र दुई राज्य मन्त्री गरी चार जना मात्र महिला परेका छन्।

तीमध्ये एमाले र माओवादीबाट दुई-दुई जना छन्।

मन्त्रिपरिषद्‌को मर्यादाक्रम र कार्यविभाजन

प्रधानमन्त्री

१)केपी शर्मा ओली - सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या

मन्त्री

२) ईश्वर पोखरेल - रक्षा

३) रामबहादुर थापा -गृह

४) प्रदीपकुमार ज्ञवाली - परराष्ट्र

५) वर्षमान पुन -ऊर्जा, जलस्रोत तथा सिँचाइ

६) गिरिराजमणि पोखरेल - शिक्षा, विज्ञान तथा प्रविधि

७) मातृकाप्रसाद यादव - उद्योग, वाणिज्य तथा आपूर्ति

८) रघुवीर महासेठ - भौतिक पूर्वाधार तथा यातायात

९) गोकर्ण बिष्ट - श्रम,रोजगार तथा सामाजिक सुरक्षा

१०) शक्तिबहादुर बस्नेत - वन तथा वातावरण

११) लालबाबु पण्डित - सङ्घीय मामिला तथा सामान्य प्रशासन

१२) थममाया थापा - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१३) युवराज खतिवडा - अर्थ

१४) जगत् विश्वकर्मा - युवा तथा खेलकुद

१५) रवीन्द्र अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१६) शेरबहादुर तामाङ - कानुन, न्याय तथा संसदीय मामिला

१७)चक्रपाणि खनाल - कृषि, भूमि व्यवस्था तथा सहकारी

१८) बीना मगर- खानेपानी

राज्यमन्त्री

१९) पद्माकुमारी अर्याल-स्वास्थ्य तथा जनसङ्‌ख्या

२०) गोकुलप्रसाद बाँस्कोटा -सञ्‍चार तथा सूचना प्रविधि

२१) धनबहादुर बुढा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२२) रामकुमारी चौधरी - कृषि, भूमि व्यवस्था तथा सहकारी

(स्रोत: प्रधानमन्त्रीको कार्यालय)

सम्बन्धित सामग्री