मन्त्रिपरिषद्‌‌: न्यून महिला सहभागिताले सत्तापक्षभित्रै असन्तुष्टि

  • 16 मार्च 2018
सपथ

प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिषद्‍मा महिलाको सङ्ख्या न्यून रहेको भन्दै सत्तापक्षभित्रै असन्तुष्टि सुनिएको छ।

शुक्रवार गरिएको विस्तारसँगै मन्त्री र राज्यमन्त्री दुई-दुई गरी महिलाको सङ्ख्या चार पुगेको छ।

तर त्यो संविधानको भावनाविपरीत रहेको सत्तापक्षकै नेत्रीको आरोप छ।

नेकपा माओवादी केन्द्रकी नेत्री शशि श्रेष्ठ भन्छिन्, "राज्यमन्त्री मन्त्रिपरिषद्‍मा सहभागी हुन र निर्णय प्रक्रियामा सहभागी हुन पाउँदैनन्। त्यसकारण यतिका मन्त्री बनाइँदा महिला मन्त्री दुई जना मात्र बनाइनु संविधानको भावना र मर्मविपरीत छ।"

अवसर

यसअघि थममाया थापा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएकोमा अहिले बीना मगरलाई खानेपानी मन्त्री नियुक्त भएकी छन्।

पद्माकुमारी अर्याललाई स्वास्थ्य तथा जनसङ्ख्या र रामकुमारी चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनाइएको छ।

महिलालाई अवसर नदिएर उनीहरूप्रति अविश्वास गरिएको नेत्री शशि श्रेष्ठको आरोप छ।

प्रमुख राजनीतिक दलका नेत्रीहरूले राज्यका हरेक अङ्गमा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनु पर्ने आवाज उठाउँदै आएका छन्।

सम्बन्धित सामग्री