'दुई छिमेकीबाट उच्चस्तरीय भ्रमण सन् २०१८ भित्रै'

  • 17 मार्च 2018
परराष्ट्र मन्त्रालय तस्वीर कपीराइट MOFA

प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग सन्तुलित ढंगले सम्बन्ध विस्तार गर्ने बताइरहेका बेला नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ भित्र ती दुवै छिमेकीबाट कार्यकारी प्रमुख तहमा नेपाल भ्रमण गराउन सरकारले काम थालेको बताएका छन्।

भारत र चीनमध्ये पहिले कुन मुलुकबाट भ्रमण हुन्छ भन्नेबारे चाहिँ उनले खुलाएनन्।

ओलीले पनि सन् २०१८ भित्रै भारत र चीनको भ्रमण गर्ने बताइएको छ तर पहिले कुन छिमेकी मुलुक उनी जानेछन् भन्नेबारे चाहिँ प्रारम्भिक संकेत समेत देखिएको छैन।

‘मोदी-ओली कुराकानी: चर्चा चीनको’

प्रारम्भिक

आफ्नो नेतृत्वमा सरकार बन्ने पक्कापक्की भएदेखि नै ओलीले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने बताउँदै आइरहेका छन्।

तस्वीर कपीराइट MOFA

त्यसकै छनक दिन प्रयास भएको जस्तो ठानिएको कदममा सरकारले दुवै छिमेकीका कार्यकारी प्रमुखलाई सन् २०१८ भित्रै नेपाल निम्त्याउन खोजेजस्तो देखिन्छ।

ओलीका विश्वासपात्र ठानिने, परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने बीबीसीसँग बताए।

उनले भने, ''हाम्रो उद्देश्य उहाँहरुलाई नेपाल भ्रमण गराउनु रहेको छ। यस्ता उच्चस्तरीय भ्रमणहरुले सम्बन्धलाई घनिष्ठ बनाउन मात्रै सहयोग गर्दैनन्, महत्त्वपूर्ण सहयोग जुटाउन समेत मद्दत गर्ने हुनाले मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै प्रारम्भिक कामहरु सुरु गरेको छु।''

दिल्लीमा एकथरीले ओली नेतृत्वको सरकारलाई भारत-प्रतिकूल सरकारका रुपमा चित्रण गरेको पाइन्छ।

चासो

नाकाबन्दी ताका र त्यसपछि पनि ओलीले राखेका अडानलाई लिएर उनीप्रति भारतीय पक्षमा शंका देखिन्छ।

तर पछिल्लोपटक दिल्ली पनि सम्बन्ध सुधारको प्रयासमा देखिन्छ र यही मौकालाई वर्तमान सरकारले नै उपयोग गर्न खोजेको प्रतीत हुन्छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ''नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकोले आफ्नो आन्तरिक मामिला आफैं समाधान गर्ने हक छ। त्यस्ता मामिलामा कुनै पनि विदेशी मुलुकले अनुचित चासो राख्ने वा गिजोल्ने काम गर्नु हुँदैन।''

छिमेकी मुलुकका कार्यकारी प्रमुखलाई नेपाल निम्त्याउने तयारी अघि बढ्दै जाँदा प्रधानमन्त्री ओलीले ती मुलुकको भ्रमण गर्ने विषय पनि चासोका साथ हेरिएको छ।

उनले दुवै छिमेकीमा छिट्टै भ्रमण गर्ने बताइएपनि त्यो कहिले हुन्छ वा पहिले कुन मुलुकमा उनी जानेछन् भन्ने विषयको प्रारम्भिक संकेत समेत देखिएको छैन।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार