विमान दुर्घटनाः अन्तर-निकाय ‘समन्वय अभाव’

  • 18 मार्च 2018
दुर्घटना तस्वीर कपीराइट RSS

गत सोमवार भएको युएस-बांग्ला विमान दुर्घटनापछिको उद्धार कार्य तथा विमानस्थलकै सुरक्षासम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै त्यसबारे पुनर्विचार गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

सुरक्षासम्बन्धी बैठकले पनि विमानस्थलको सुरक्षा थप कडा पार्नेदेखि त्यस्ता दुर्घटना हुँदा प्रहरी, सेना लगायत उद्धारमा खटिने निकायबीच तत्काल सूचना आदानप्रदान र थप समन्वय गर्नेसम्मका निर्णय गरेको छ।

युएस-बांग्ला विमान दुर्घटनाका बेला दुर्घटनास्थलमा उद्धारमा खटिएका कर्मचारीबीच चुस्त समन्वय हुन नसकेको निचोडमा स्वयं सरकारी निकायहरू पुगेको देखिन्छ।

त्यसका अतिरिक्त सर्वसाधारण समेत विमानस्थलभित्र छिरेर धावनमार्ग आसपासको क्षेत्रमा पुगेका थिए।

विमान दुर्घटनापछि उद्धार

विमान दुर्घटनाको छानबिन गर्न आयोग

कमजोरी

नागरिक उड्डयन प्राधिकरणका विमानस्थल सुरक्षा प्रबन्धक छवि खनालले भने, "कतिपय अवस्थामा हाम्रो सुरक्षामा कमजोरी छ कि वा त्यो क्षेत्रलाई घेरा हाल्न नपुगेको हो कि? अथवा उद्धारकर्ताहरू बढी भए कि वा त्यहाँको निर्देशनमा केही भद्रगोल भयो कि भन्ने केही कमीकमजोरी मैले देखेको छु।"

हालै नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र विमानस्थलका उच्च अधिकारीहरूको बैठकले पनि विमान दुर्घटनापछिको अवस्थाबारे समीक्षा गरेको छ।

त्यसले सुरक्षा कमजोरी भएको निष्कर्ष निकाल्दै सुधार्ने निर्णय पनि गरेको त्रिभुवन विमानस्थलका प्रबन्ध निर्देशक राजकुमार क्षेत्री बताए।

उनले भने, "यस्तो घटना विमानस्थलमा धेरै पछि भएकोले मलाई लाग्छ सेना, प्रहरीहरू सबै अतालिए। त्यो क्रममा केही सुरक्षा कमजोरी हुन पुगेको हो। बैठकले भएका कमीकमजोरीलाई सच्याउने निर्णय पनि भयो र त्यसलाई हामी कार्यान्वयन गर्नेछौँ।"

४९ जनाको ज्यान जाने गरी भएको युएस-बांग्ला विमान दुर्घटनापछिको उद्धार लगायतका कामप्रति कतिपयले प्रश्न उठाइरहँदा सरकारी निकायले त्यसमा सुधारको प्रयास थालेको बताएका छन्।