'बलात्कारबारेको अनुसन्धान चुस्त बनाऊ'

  • 19 मार्च 2018
बलात्कार
Image caption नेपालमा बलात्कारका कैयौँ घटना दबाउने गरिएको अधिकारकर्मीहरूले बताउने गरेका छन्। (फाइल तस्वीर)

बलात्कारका घटनामा मुद्दा कमजोर हुँदा दोषीहरू उम्कने क्रम बढेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले शुरूवाती अनुसन्धान तथा प्रमाण जुटाउने काम प्रभावकारी बनाउन प्रक्रिया थालिएको जनाएको छ।

महान्यायाधिवक्ताको अध्यक्षतामा गृह सचिव तथा प्रहरी प्रमुख लगायतका उच्चअधिकारी रहने समन्वय समितिले त्यस्तो कमजोरी रहेको निचोड निकालेको हो।

उक्त समितिले बलात्कारका घटनामा तत्काल प्रहरीले अनुसन्धान थाल्ने तथा चिकित्सकहरूले आवश्यक जाँच गर्ने जस्ता पक्षमा सुधार गर्न काम थालिएको बताएको छ।

सरकार वादी भएको मुद्दाको अभियोजनसँग सम्बन्धित समन्वय समितिले आइतवारसहित पछिल्लो एक सातामा दुई पटक छलफल गरिसकेको छ।

अनुसन्धान

उक्त छलफलमा गृह र स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रहरीका उच्चअधिकारीसँग बलात्कारका घटनामा शुरूवाती चरणबाटै चुस्त अनुसन्धान थाल्नुपर्ने पक्षमा जोड दिइएको बुझिएको छ।

आरोपितविरुद्धको प्रमाण संकलनमा महत्त्वपूर्ण रहने प्रहरी अनुसन्धान र स्वास्थ्यसम्बन्धी प्रतिवेदन जस्ता पक्षमा विशेष सजगता अपनाउन लागेको जनाइएको छ।

महान्यायाधिवक्ता अग्नि खरेल भन्छन्, "चिकित्सकको प्रतिवेदनले गर्दा पनि कतिपय अनुसन्धानको प्रक्रियामा स्पष्टता नहुने या कतिपय रिपोर्टले बोल्नुपर्ने कुराहरू व्यक्त नहुने जस्ता कमीकमजोरीहरू रहन गएकोले त्यसमा एकरूपता ल्याउन र अनुसन्धानलाई दुरूस्त बनाउन बैठक बोलाइएको हो। "

देशका विभिन्न स्थानमा बलात्कार भएका विवरण एकपछि अर्को आउन थालेपछि महान्यायाधिवक्ता कार्यालयले पछिल्लो कदम चालेको बताइएको छ।

वृद्धि

जिल्ला-जिल्लामा पनि अनुसन्धानलाई प्रभावकारी रूपमा अगाडि बढाउन लागिएको महान्यायाधिवक्ता खरेलले बताए।

उनले भने, "जिल्लाका न्यायाधिवक्ताको संयोजकत्वमा समन्वय समिति रहन्छ। उनीहरूलाई अविलम्ब जिल्ला जिल्लामा पनि समन्वय समितिको बैठक डाक्ने र फौजदारी अनुसन्धानलाई जरूरी रहने हुन्छ। उनीहरूलाई निर्देशन दिइएको छ।"

तर पीडित तथा अधिकारकर्मीहरूले बलात्कारका घटनामा प्रमाण संकलन महत्त्वपूर्ण भएपनि त्यसका अतिरिक्त कानूनमा थप कडाइ, पीडितलाई समाजमा पुनर्स्थपना तथा जनचेतना जस्ता पक्षमा समेत जोड दिनुपर्ने ‌औंल्याएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
यौन दुर्व्यवहार गरे बापत १ सय ७५ वर्ष जेलसजाय

अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपालमा बलात्कारका घटनामा वृद्धि भएको र त्यसमा बालिकाहरू बढी पीडित रहेको प्रहरीको तथ्याङ्कमा देखिन्छ।