कूटनीतिक मर्यादाको पालना नभएको भन्दै आलोचना

  • 20 मार्च 2018
रवीन्द्र अधिकारी तस्वीर कपीराइट IndiaInNepal

सरकारका नवनियुक्त कतिपय मन्त्रीले विदेशी प्रतिनिधिहरूसँगको भेटमा कूटनीतिक आचारसंहिता पालना नगरेको भन्दै तीव्र आलोचना भएको छ।

सोमवार भारतीय राजदूतले गृहमन्त्रीसहित चार मन्त्रीलाई उनीहरूको कार्यकक्षमा गएर भेटेका थिए।

एकजना मन्त्रीले भने त्यसलाई अचानक भएको भेट भन्दै आफ्नो बचाउ गरेका छन्।

कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नु पूर्व परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ।

'प्रतिबद्धता पूरा गर्न भारतलाई घचघच्याउ'

उल्लंघन

तर सोमवार भारतीय राजदूत मनजीवसिंह पुरी र सरकारका चारजना मन्त्रीबीच भएको छुट्टाछुट्टै भेटमा प्रायस: उक्त व्यवस्थाको पालना भएको देखिएन।

यसलाई पूर्व राजदूत जयराज आचार्य कूटनीतिक लापरवाही भनेका छन्।

उनले भने, "मर्यादा पालना गर्नुपर्ने काम नेपाली पक्षले नै हो। यसमा हाम्रो राजनीतिक नेतृत्व वर्ग कूटनीतिक संवेदनशिलताबारे अनभिज्ञ रहे जस्तो अथवा लापरवाही गरिरहेको जस्तो देखिन्छ।"

सिंहदरवारमा सोमवार भारतीय राजदूत सिंहले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छुट्टाछुट्टै भेट गरेका थिए।

तस्वीर कपीराइट IndiaInNepal

व्यवस्था

पर्यटनमन्त्री अधिकारीले त्यसलाई अचानकको भेट भनी बचाउ गरेका छन्।

उनको भनाइ छ, "यो बधाई दिने कार्यक्रम रहेको र मन्त्रालयमा नै आउने भनिसकेपछि हामीले स्विकारेका हौं। अरू केही होइन। "

भारतीय राजदूतसँगको भेटमा मात्रै होइन अन्य मुलुकका राजदूत र विदेशी पाहुनासँगको भेटमा पनि नेपाली उच्चअधिकारीले कूटनीतिक आचारसंहिता पालना गरेको पाइँदैन।

त्यस्ता भेटमा परराष्ट्रका प्रतिनिधि राख्न नसकेको अवस्थामा कुराकानीको संक्षिप्त टिपोट पराष्ट्र र सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ।

तर त्यो पनि पालना भएको देखिंदैन।

पछिल्लो भेटवार्ताहरूबारे परराष्ट्र मन्त्री र मन्त्रालयका अधिकारीहरूले भने प्रतिक्रिया दिन मानेनन्।

सम्बन्धित सामग्री