भारत: 'गोरक्षा' समूहबाट भएको हत्यामा ११ लाई जन्मकैद

  • 22 मार्च 2018
गोहत्या भारत तस्वीर कपीराइट Getty Images

उत्तर भारतको झारखण्ड राज्यको एउटा अदालतले गत वर्ष भएको एक जना मुसलमान व्यापारीको हत्याको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

गाईको मासु ओसारपसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई कुटपिट गरी मारिएको थियो।

भारतमा केही वर्षयता मासुको व्यापार गर्ने मुसलमानहरूमाथि आक्रमण हुँदै आएको भए पनि 'गोरक्षा' सम्बन्धित मुद्दामा अदालतले आरोपितलाई दोषी ठहर्‍याएको पहिलो पटक हो।

हिन्दूहरू गाईलाई पवित्र मान्छन् र झारखण्डलगायत कतिपय राज्यमा गोवध प्रतिबन्धित छ।

गाईको रक्षा गर्न भनेर हुने अप्रिय घटनाहरू भारतमा सामान्य जस्तै भएका छन्।

तर प्रहरीले गर्ने अनुसन्धानहरूपछि प्राय: अभियुक्तहरू दोषमुक्त हुने गरेका छन्।

अन्सारीको हत्याको अभियोगमा १२ जना पुरुषहरूलाई समातिएको थियो।

तर अदालतले बाह्रौँ अभियुक्तलाई नाबालक भएको भनेर सजाय सुनाएन।

"हामीले अधिकतम सजाय दिन अदालतसमक्ष अनुरोध गरेका थियौँ," अभियोजनकर्ता सुशील कुमार शुक्लाले 'इन्डिएन एक्स्प्रेस' पत्रिकालाई भने।

मृतकका छोरा शाभन अन्सारीका अनुसार उनको परिवार अदातलको निर्णयप्रति सन्तुष्ट छ। तर राज्य सरकारबाट कुनै क्षतिपूर्ति नपाएकोमा आफू निराश भएको उनले बताए।

अदालतबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अन्सारीकी पत्नी मरियम खातुनले आफ्ना पतिको मृत्यु वियोगपूर्ण भएको भए पनि आफूले थप रक्तपात नचाहेको बताएकी थिइन्।

उनका अनुसार उनी आफ्नो परिवारसँग शान्तिपूर्वक बस्न चाहन्छिन्।

सन् २०१४ मा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी सत्तामा आएपछि 'गो रक्षा' गर्न भनेर बनेका समूहहरूलाई प्रोत्साहन दिने गरिएको छ। फलस्वरूप गाईको मासु खाने मुसलमान र दलित समुदायहरूमाथि आक्रमणका घटनाहरू हुने गरेका छन्।

त्यस्ता घटनाहरूमा हालसम्म झन्डै एक दर्जन मानिस मारिएका छन्।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार