फ्रान्स: सुपरमार्केटमा सन्दिग्ध उग्रवादीद्वारा केही व्यक्ति बन्धक, केही हताहत

  • 23 मार्च 2018
फ्रान्स तस्वीर कपीराइट LA VIE A TRÈBES/REUTERS

दक्षिणपश्चिम फ्रान्सको ट्रेब नगरमा एक जना हतियारधारीले केही मानिसहरूलाई बन्धक बनाएको र कम्तीमा दुई जनालाई गोली हानी मारिदिएको विवरणहरू प्राप्त भएका छन्।

सो घटना एउटा सुपरमार्केटमा भएको र सुरक्षाकर्मीहरू त्यहाँ पुगिसकेको बताइएको छ।

अधिकारीहरूका अनुसार सन्दिग्ध बन्दुकधारीले आफू इस्लामिक स्टेटको सदस्य भएको दाबी गरेको छ।

यसअघि घटनास्थलबाट केही पर खार्खासोन‍्‌मा एक प्रहरीलाई कुममा गोली हानी घाइते बनाइएको थियो। आक्रमण हुँदा उनी सहकर्मीहरूसँग दौडिँदै थिए।

एक वरिष्ठ प्रहरीले समाचार संस्था एपीलाई बताएअनुसार सोही सन्दिग्धले त्यो आक्रमण गरेको थियो।

प्यारिस स्थित बीबीसी संवाददाता ह्यु स्कोफिल्ड् भन्छन्, "प्रत्यक्षदर्शीहरूका अनुसार ती बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र प्रवेश गरेका थिए। उनले आफू डायस् अर्थात् फ्रान्सेली भाषामा इस्लामिक स्टेट समूहको सदस्य भएको बताएका थिए।"

"त्यसअघि ती व्यक्तिले दौडिरहेको दङ्गा प्रहरीको समूहको पछिपछि मोटर चलाउँदै एक व्यक्तिलाई गोली हानी घाइते बनाएका थिए।"

"आतङ्कवादी कृत्य"

फ्रान्सका प्रधानमन्त्री इद्वार् फिलिप्‌ले स्थिति निकै गम्भीर रहेको र यो आतङ्कवादी कृत्य भएको भन्ने टिप्पणी गरेका छन्।

ट्रेबका नगरप्रमुख एरिक मेनासीले स्थानीय टीभीलाई सो सन्दिग्ध बन्दुकधारी अब एक जना प्रहरी अधिकृतसँग एउटा पसलमा बाँकी रहेको बताए।

उनका अनुसार बन्धक बनाइएका व्यक्तिहरू मुक्त भइसकेका छन्।

सुरक्षानिकायमा रहेका एक स्रोतले समाचार संस्था एएफपीलाई अधिकांश कर्मचारी र ग्राहकहरू सुपरमार्केटबाट सुरक्षित भागेको बताए।

सयौँ प्रहरीहरू परिचालित भएका छन् र घटनास्थललाई घेरा हालिएको छ।

माग

धेरै हतियार बोकेको सो व्यक्तिले प्यारिस आक्रमणमा बाँच्न सफल एक जना सन्दिग्ध सलाह आब्देस्लमको रिहाइको माग गरेको छ।

विवरणहरूका अनुसार आजको घटनामा संलग्न व्यक्तिका बारे फ्रान्सेली गुप्तचर निकायलाई जानकारी थियो।

प्रतिआतङ्कवादसँग सम्बन्धित अभियोजनकर्ताहरूले घटनाको अनुसन्धान गर्दैछन्। तर यसबारे विस्तृत विवरणहरू उपलब्ध गराइएको छैन।

सन् २०१५ देखि फ्रान्समा भयानक जिहादी आक्रमणहरू भएका छन्।

प्यारिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए।

सो घटना भएपछि फ्रान्समा एक महिनाका लागि सङ्कटकाल घोषणा गरिएको थियो।

सम्बन्धित सामग्री