'नेपाली वनस्पतिशास्त्रका पिता': फ्रान्सिस ब्युकानन-ह्यामिल्टन

  • 23 मार्च 2018
तस्वीर कपीराइट LSL
Image caption नेपालमा ब्युकानन-ह्यामिल्टन र उनको टोलीले सङ्कलन गरेको बिरुवा सुनाखरी (डेन्ड्रोब्रियम डेन्सिफ्लोरम) को हर्बेरियम नमुना

आज भन्दा झण्डै ११६ वर्षअघि एकजना स्कटिश चिकित्सक भारतको कलकत्ता शहरबाट एउटा टोली लिएर नेपाल प्रस्थान गरे।

एक महिनाभन्दा लामो पैदल यात्रापछि उनीहरू काठमाण्डू पुगे।

भारत त्यसबेला ब्रिटिश शासनअन्तर्गत थियो। कलकत्तास्थित गभर्नर जनरलको आदेशपछि ४० वर्षीय फ्रान्सिस ब्युकानन-ह्यामिल्टन बङ्गाल क्याभलरीका क्याप्टेन विलियम डि नक्सको नेतृत्वमा नेपाल जान लागेको राजनीतिक मिशनमा सामेल भए। उनी जाडो याममा डुङ्गामा बिहारको पटना आए जहाँ उनको नक्ससँग भेट भयो।

टोलीका अन्य सदस्यहरूमा एकजना भूगोलविद् क्याप्टेन चार्ल्स क्रफोर्ड तथा भूगर्भविद् ब्लेक थिए। बोटबिरुवा सङ्कलन गर्ने काममा बुखाननलाई कलकत्ताबाट आएका बाबु रामाजाइ भट्टाचार्जीले सघाएका थिए।

युरोपेली तथा भारतीय सैनिकहरू बराबर सङ्ख्यामा रहेका भारतीय सेनाका दुई टुकडीको सुरक्षामा त्यो टोली १२ ज्यानुअरी १८०२ मा नेपालको सीमातर्फ प्रस्थान गर्‍यो। नेपाल जाने अनुमति पर्खेर उनीहरूले कैयौँ दिन त्यहीँ बिताए। बाटोमा भेटिएका सबै खाले वनस्पतिहरू सङ्कलन गर्ने र तिनको अभिलेख राख्‍ने काम फ्रान्सिस बुखाननले थालिसकेका थिए।

आफ्नो काममा सघाउन थप सहयोगी आवश्यक पर्ने ठानेर उनले रक्सबरोलाई पत्र लेखे। त्यसबेला कलकत्तास्थित बोटानिक गार्डनमा खटिएका कोही कर्मचारी पनि नेपाल जान नरुचाउने भएकाले रक्सबरोले आफ्नै छोरा विलियमलाई सो टोलीमा पठाए।

आवासीय नियोग

सन् १८०१ मा इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच भएको व्यापार सन्धिका कारण नेपालीहरू ब्रिटिशहरूसँग खुसी थिएनन्।

सो सन्धिमा उल्लिखित नेपालमा ब्रिटिशहरूको आवासीय नियोग राख्‍न दिने प्रावधानसँग नेपाली शासकहरू सन्तुष्ट थिएनन्। त्यसैले क्याप्टेन नक्सले नेतृत्व गरेको टोलीले काठमाण्डूसम्म आउने अनुमति पाउन कैयौँ साता सीमामै बिताउनुपर्‍यो।

त्यस बेला नेपालको तराईमा व्याप्त औलोका कारण विदेशीहरू लामो समय बिताउन रुचाउँदैनथे। अन्तत: काठमाडौंबाट अनुमति आएपछि त्यो टोली ३० मार्चमा अमलेखगन्ज पुग्यो। त्यसपछि हेटौँडा र चित्लाङ हुँदै १५ एप्रिलमा टोली थानकोट आइपुग्यो। थानकोटबाट काठमाण्डू उपत्यका हेर्दा ब्युकानन-ह्यामिल्टन खासै प्रभावित भएनन्।

त्यहाँबाट पठाएको पत्रमा उनले लेखे, "हामी हिजो यहाँ आइपुग्यौँ। यहाँबाट हेर्दा काठमाडौँ नाङ्गो, कुरूप उपत्यकाजस्तो देखिन्छ जुन कृषिमा सुधार गरिनुअघिको स्कटल्याण्डजस्तै लाग्छ।''

तर पछि भने उनले उपत्यकाको प्राकृतिक सौन्दर्य र वनस्पतिको खुलेर प्रशंसा गरे।

एप्रिल १७, १८०२ मा सो टोली काठमाण्डू आइपुग्दा उनीहरूलाई बस्नका लागि हाल नारायणहिटी दरबार रहेको स्थाननजिकै ब्रिटिश आवासीय नियोग स्थापना गर्न एउटा ठूलो घर दिइएको थियो।

नेपालीहरू ब्रिटिशहरूलाई रुचाउँदैनथे र उनीहरूलाई एकपटक मात्रै काठमाण्डू उपत्यकाबाहिर जान अनुमति दिइयो।

फ्रान्सिस ब्युकानन-ह्यामिल्टनले नेपालमा के गरे?

तस्वीर कपीराइट LSL
Image caption ब्युकानन-ह्यामिल्टन र उनको टोलीले सङ्कलन गरेको यो बिरुवा कुफ्रे (होमालियम नेपालेन्स) को चित्र उनीसँगै गएका एक चित्रकारले बनाएका थिए

ब्युकानन-ह्यामिल्टनले उनको टोलीमा रहेका भारतीयहरू तथा स्थानीय बासिन्दाको सहयोगबाट थुप्रै बोटबिरुवाहरू सङ्कलन गरे। उनले विभिन्न बोटबिरुवाका झण्डै १,१०० प्रजातिहरुको अभिलेख तयार गरे जसमध्ये ८०० प्रजाति पहिलो पटक फेला परेको ठानिन्छ।

काठमाण्डू उपत्यका र वरिपरि पाइने बोटबिरुवा भारतमा पाइनेभन्दा युरोप र जापानमा पाइने बोटबिरुवासँग मिल्दोजुल्दो रहेको पनि उनको ठहर थियो। उनले नेपाली वनस्पतिहरूको वर्गीकरण गर्न एन्तोँ लराँ द जेसू नामक वनस्पतिशास्त्रीले अघि सारेको प्राकृतिक प्रणाली अपनाएका थिए।

झण्डै ११ महिना लामो आफ्नो नेपाल बसाइका क्रममा बुखाननले राजनीतिक प्रकृतिका सूचना पनि सङ्कलन गरेको बताइन्छ। तर उनको सम्झना भने नेपाली वनस्पतिको सङ्कलन र वैज्ञानिक अभिलेखका लागि नै गरिन्छ।

उनको बारेमा अध्ययन गरेका रोयल बोटानिक गार्डेन एडिन्बराका एकजना वनस्पतिविद् डा मार्क वाट्सन भन्छन्, "पेशाले एक चिकित्सक भएपनि ब्युकानन-ह्यामिल्टनले वनस्पतिशास्त्रको पनि गहिरो अध्ययन गरेका थिए।"

डा. वाट्सनका अनुसार उनले कोलकतामा हरेक बिरुवाका नमुनाको छुट्टाछुट्टै अनुक्रमणिका (इन्डेक्स स्लिप) बनाएका थिए। त्यसमा त्यो बिरुवा कहाँबाट ल्याइएको हो, त्यसको जरा, हाँगा, फल वा फूलसम्बन्धी जानकारीका साथसाथै त्यसको हिन्दुस्तानी, नेवारी र पर्वते नाम पनि उल्लेख गरिएको छ।

ब्युकानन-ह्यामिल्टनसँगै नेपाल गएका नाम नखुलेका एक भारतीय चित्रकारले सङ्कलित बिरुवाहरूको चित्र बनाएका थिए। ती सक्कल चित्रहरूको सङ्कलन अहिले पनि लण्डनस्थित द लिनियन सोसाइटीमा सुरक्षित राखिएको छ।

अन्वेषक

"धेरै मानिसहरू फ्रान्सिस ब्युकानन-ह्यामिल्टनलाई भारत, नेपाल र बर्मामा प्राकृतिक इतिहासका अन्वेषकको रूपमा चिन्दछन्। तर भारतमा बौद्ध धर्मको पुनरुत्थानमा उनले गरेको खोज निकै महत्त्वपूर्ण थियो," डा. वाट्सन भन्छन्।

त्यस्तै रोयल बोटानिक गार्डन, एडिन्बरामै कार्यरत वनस्पतिशास्त्री डा. भास्कर अधिकारीले भने, "डा. फ्रान्सिस ब्युकानन-ह्यामिल्टनले सङ्कलन गरेका वनस्पतिहरू नेपालकै पहिलो वनस्पति सङ्कलन थियो र ती विज्ञानका लागि नयाँ थिए। उनले नेपाली वनस्पतिको विविधताबारे बाँकी विश्वलाई थाहा दिए, त्यसैले उनलाई 'नेपाली वनस्पतिका पिता' पनि भनिएको हो।"

फ्रान्सिस ब्युकानन-ह्यामिल्टनले नेपाल भमण गरेको ११६ वर्ष पछि पनि नेपाल तथा ब्रिटेनबीच वनस्पतिको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको काम चलिरहेकेा छ।

ब्रिटेनका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गत अक्टोबर महिनामा रोयल बोटानिक गार्डन, एडिन्बरा (आरबीजीई) स्थित नेपाली बगैँचाको उद्घाटन गरेका थिए। त्यस्तै आरबीजीईले ललितपुर, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा जैविक विविधता बगैँचा स्थापना गर्न सघाएको थियो।

रोयल बोटानिक गार्डन, एडिन्बराले अहिले पनि नेपालको वनस्पतिसम्बन्धी अनुसन्धानको काम जारी राखेको छ र नेपाल सरकारसँगको सहकार्यमा 'फ्लोरा इन् नेपाल' नामक पुस्तक प्रकाशनमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ।

दश भागमा प्रकाशन गर्ने योजना बनाइएको सो पुस्तकको अहिलेसम्म पहिलो भाग प्रकाशित भइसकेको छ र बाँकी भागहरू प्रकाशन गर्न नेपालको वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभाग, नेपाल पज्ञा प्रतिष्ठान (नाष्ट) तथा सोसाइटी अफ हिमालयन बोटनी, जापानले सहकार्य गरिरहेका छन्।

फ्रान्सिस ब्युकानन-ह्यामिल्टन को हुन्?

तस्वीर कपीराइट LSL
Image caption ब्युकानन-ह्यामिल्टन र उनको टोलीले सङ्कलन गरेको यो बिरुवा अङ्गेरी (लायोनिया ओभलिफोलिया) नेपालको मध्यपहाडी भेगमा पाइन्छ

फ्रान्सिस ब्युकानन-ह्यामिल्टनको जन्म फेब्रुअरी १५, १७६२ मा स्कटल्याण्डको ग्लास्गोभन्दा केही उत्तर ब्रान्जीयट भन्ने ठाउँमा भएको थियो।

उनले एडिन्बरा विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक उत्तीर्ण गरे। पेशाले चिकित्सक भएपनि उनी बहुमुखी प्रतिभाशाली व्यक्ति थिए। उनलाई वनस्पतिशास्त्र, प्राणीशास्त्र, भूगर्भशास्त्र, समाजशास्त्र, इतिहास, कला आदि विषयमा गहिरो अभिरुचि थियो।

उनले नेपालबाहेक भारत र बर्माका वनस्पतिका बारेमा पनि वैज्ञानिक अनुसन्धान गरेका थिए। उनले बर्मामा सङ्कलन गरेका बिरुवाहरूको हर्बेरियम र विभिन्न बोटबिरुवाका ५५ वटा चित्र कलकत्तामा इष्ट इण्डिया कम्पनीका अधिकारीहरूलाई बुझाएका थिए।

सन् १८१५ मा स्कटल्याण्ड फर्केपछि उनी एडिन्बरा विश्वविद्यालयको प्राकृतिक इतिहास समाजका संस्थापक सदस्य बने।

उनले आफूले सङ्कलन गरेर ल्याएका सामग्री लण्डनस्थित द लिनियन सोसाइटीका मिस्टर स्मिथलाई दिएका थिए, जहाँ अहिले पनि ती सामग्री सुरक्षित छन्। स्मिथले फ्रान्सिस ब्युकानन-ह्यामिल्टनले सङ्कलन गरेर ल्याएका केही बिरुवाहरूको बारेमा उनको पुस्तक 'एक्जोटिक बोटनी' मा उल्लेख गरेका छन्।

तर अधिकांश बिरुवाका बारे उनले सङ्कलन गरेको जानकारी अझै अप्रकाशित छ।

झण्डै ११ वर्षअघि अनुसन्धानका क्रममा लण्डन आएका बेला द लिनियन सोसाइटीकी पुस्तकालय प्रमुखले डा. वाट्सनलाई फ्रान्सिस बुखाननले सङ्कलन गरेका सामग्रीहरू अहिलेसम्म पनि जस्ताको तस्तै रहेको र त्यसलाई कसैले खोलेर पनि नहेरेको बताइन्। त्यसपछि मार्कले उनीहरूकै उपस्थितिमा १०० वर्षभन्दा अघि पठाइएका सामग्री खोलेर तिनको अध्ययन थाले ।

आफूले गरेको अध्ययनका आधारमा मार्कले लेखेको लेख 'एनल्स अफ साइन्स' नामक जर्नलमा पनि छापिएको छ।

आफ्नो जीवनका अन्तिम दिनसम्म पनि फ्रान्सिस बुखानन लेख्‍न, पढ्न र अनुसन्धानमा सक्रिय थिए। आजीवन अन्वेषण गरेका उनको सन् १८२९ मा ६७ वर्षको उमेरमा निधन भयो।

सबै चित्रहरु लिनियन सोसाइटी अफ लण्डनको अनुमति लिएर यहाँ प्रकाशित गरिएका हुन्।फ्रान्सिस ब्युकानन-ह्यामिल्टनले सङ्कलन गरेका बोटबिरुवाबारे थप जानकारी http://linnean-online.org/buchanan_hamilton.html मा गएर लिन सकिन्छ।

सम्बन्धित सामग्री