न्यायक्षेत्रका घटना गम्भीर प्रकृतिका: राष्ट्रपति

  • 23 मार्च 2018
सम्मेलन तस्वीर कपीराइट .

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकासम्बन्धी विवाद 'गम्भीर प्रकृतिको घटना' भएको टिप्पणी गरेकी छन्।

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएशनको राष्ट्रिय सम्मेलनको नेपालगञ्जमा उद्घाटन गर्दै उनले त्यसबारे सम्मेलनको ध्यानाकर्षण हुने अपेक्षा गरिन्।

ती घटनालाई लिएर विभाजित देखिएका कानुन व्यवसायीमाझ कायममुकायम प्रधानन्यायाधीशले दिएको मन्तव्यमा पनि पछिल्ला घटनाप्रति अप्रसन्नता झल्किन्थ्यो।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादको लामो शृङ्खला, त्यससँग जोडिएको अवहेलना मुद्दा, इजलास नबस्ने न्यायाधीशको घोषणा, विवाद त्यतिमा रोकिएन।

अप्रन्नता

न्यायपरिषद् सचिवले प्रधानन्यायाधीश अवकाश भइसकेको निर्णय गरे। त्यही दिन राष्ट्रपतिलाई शपथ खुवाएका प्रधानन्यायाधीशले भोलिपल्ट राजीनामा दिए।

पदमुक्त घोषित प्रधानन्यायाधीशको राजीनामा लिएकी राष्ट्रपतिले 'न्यायपालिकाको परम्परागत छवि अझ सुदृढ पार्न बारको महत्वपूर्ण भूमिका' अपेक्षा गर्दै भनिन्, "पछिल्लो समय न्यायक्षेत्रका घटना गम्भीर प्रकृतिका छन्। यसमा सम्मेलनको गम्भीर रूपमा ध्याकृष्ट हुनेछ।"

विवादयुक्त घटनालगत्तै सर्वोच्च अदालतको नेतृत्व सम्हालेका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले 'व्यवस्थापिका र कार्यपालिकाको गतिशीलता प्रारम्भ भइसकेको' बताउँदै न्यायपालिकाको हकमा फरक अवस्थाको अनुभव भएको सुनाए।

तस्वीर कपीराइट RSS
Image caption पराजुलीको जन्ममिति विवाद लगायतका विषयलाई लिएर न्याय क्षेत्र आलोचनामा परेको थियो

त्यसबाट सबैलाई अप्रसन्नता भएको हुनसक्ने बताउँदै उनले भने, "तर यस्ता विषयमा राज्यस्तरीय संस्थागत धारणा बन्न सक्दैनन्, बन्नु हुँदैन र बन्ने पनि छैनन् भन्नेमा म विश्वस्त छु।"

सङ्केत

त्यसो भनेर उनले पछिल्ला दिनमा कमजोर देखिएको न्यायपालिकामा सम्भावित राजनीतिक हस्तक्षेपतर्फ पनि आफू सजग रहेको सङ्केत दिन खोजेको ठानिएको छ।

पछिल्ला विवादपूर्ण घटनाप्रति लक्षित जोशीको भनाइ थियो, "यस्ता अनुभव भविष्यका कुनै पनि पुस्ताले देख्नु, भोग्नु र गर्नु नपरोस् यही कामना गरौँ।"

विवादप्रति असन्तुष्टि झल्किने धारणा राखेकी राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वतन्त्रतामा कहीँ कतैबाट पनि आँच पुर्‍याउने काम सह्य नहुने पनि बताइन्।

उनले न्यायपालिकाप्रति भरोसा दर्शाउँदै भनिन्, "न्यायपालिकाभित्र आएका र आउन सक्ने विकृति एवम् विसङ्गतिहरू न्यायपालिका स्वयम्‌ले सुधार गर्नेछ भन्नेमा म विश्वस्त छु।"

न्यायपालिकाको इतिहासमै सर्वाधिक विवादित भनिएका पछिल्ला घटनाक्रमलाई लिएर कानुन व्यवासायीहरूबीच मतभेद देखा परेका छन्।

त्यसले न्यायपालिकासम्बन्धी विवाद झन् झन् उदाङ्गो हुन सघाएको कैयौँको मत पाइन्छ।

सम्बन्धित सामग्री