‘ओली भारत जानुअघि मोदीलाई नेपाल ल्याउन प्रस्ताव’

  • 24 मार्च 2018
प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि लगातार तीन नेपाली प्रधानमन्त्री दिल्ली पुगेको भन्दै अब भारतीय पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात हुने अपेक्षा आफूहरुले गरेको बताएका छन्।

बीबीसीसँग शनिवार कुरा गर्दै उनले भने, "हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौं। तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयको रुपमा हेरिनुहुन्न"।

"कताबाट भ्रमण हुने भन्ने भन्दा पनि त्यो भ्रमण कुन उद्देश्यका लागि हो वा त्यसबाट मुलुकले के प्रतिफल प्राप्त गर्छ भन्ने विषय महत्वपूर्ण हो"।

तर त्यसबारे दिल्लीले कुनै प्रतिक्रिया दिएको वा नदिएको भन्नेबारे चाहिँ परराष्ट्रमन्त्रीले प्रष्ट खुलाएनन्।

यद्यपि उनले सन् २०१८ भित्रै भारत र चीन दुवै छिमेकीका सरकार वा राष्ट्रप्रमुखले नेपालको भ्रमण गर्ने धारणा राखे।

एक महिनामा दोस्रो पटक मोदी-ओली फोन वार्ता

‘मोदी-ओली कुराकानी: चर्चा चीनको’

औपचारिक प्रस्ताव

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे हालसम्म दिल्लीबाट कुनै औपचारिक प्रस्ताव नआएको पनि उनले बताए।

प्रधानमन्त्री केपी ओलीले पदसम्हालेयताको पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेको र उक्त भ्रमण अबको दुई सातापछि हुने भन्ने विवरणमाझ उनले त्यस्तो धारणा राखेका हुन्।

आफ्नो असन्तुष्टि झल्कने धारणा राख्दै ज्ञवालीले भने, "मैले पनि प्रधानमन्त्री ओलीको भ्रमणबारे सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएँ। ती विवरणमा भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गरिएको छ र सम्भवत: त्यो मिति(चैत २३) नेपालबाट भ्रमण होस् भन्ने भारतीय अपेक्षा होला"।

"तर हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौं। त्यसैले नेपाली पक्षले त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन"।

सम्बन्धित सामग्री