अमेरिका र युरोपेली देशद्वारा रुसी कूटनीतिज्ञ देशनिकाला

  • 26 मार्च 2018
क्रेमलिन तस्वीर कपीराइट Getty Images

संयुक्त राज्य अमेरिका र उसका यूरोपेली साझेदारहरुले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर गर्ने विषालु रासयानिक हमलाको संयोजित प्रतिक्रियास्वरूप दर्जनौँ रुसी कूटनीतिज्ञहरूलाई देशनिकालाको आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ६० जना रुसी कूटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएका छन्।

रुसले ती आदेशको आलोचना गर्दै उचित जवाफ दिने संकेत गरेको छ।

क्यानडा, जर्मनी, फ्रान्स, यूक्रेन तथा अन्य यूरोपेली संघ-इयु राष्ट्रहरुले पनि त्यस्तै कदम चाल्दै आफ्नो देशबाट रुसी कूटनीतिज्ञहरुलाई निष्काशन गरिदिएका छन्।

एकमत

गत मार्च ४ मा दक्षिणी इंग्ल्याण्डको सोल्जबरीमा भूतपूर्व रुसी गुप्तचर सेर्गेई स्क्रीपाल र उनकी छोरीमाथि रासायानिक हमला रुसले गरेको हुन सक्ने सम्भावना अधिक भएकोमा गत हप्ता ईयू राष्ट्रका नेताहरु एकमत भएका थिए।

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत थप देशनिकाला जस्ता कारबाही अझै हुन सक्ने उल्लेख गरेका छन्।

रुसले भने सो हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ।

स्क्रीपाल र उनकी छोरी युलिया अस्पतालमा उपचाररत छन् र उनीहरुको अवस्था गम्भीर छ।

रुसी विदेश मन्त्रालयकी एकजना प्रवक्ता मरिया जाखा-रोभाले, उनकै शब्दमा, ऐक्यबद्भताको अपव्याख्या गर्दै यूकेको साथ दिएको भन्दै ईयूको निन्दा गरेकी छिन् ।

ब्रिटिश कूटनीतिज्ञ निष्कासन गर्ने रुसी निर्णय

जासुस विष प्रकरणमा रुसको निन्दा

आदेश

वासिंग्टनस्थित रुसी दूतावासबाट ४८ जना कूटनीतिज्ञहरु निष्काशनमा परेका छन् भने अन्य न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा कार्यरतहरु परेका छन्।

साथै सियाटलमा रहेको रुसी महावाणिज्यदूतावासको कार्यालय पनि बन्द गर्न अमेरिकाले आदेश दिएको छ।

यूक्रेनले पनि १३ जना रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गरेको छ।

यसअघि सोमबार लाट्भिया, इस्टोनिया पोल्याण्ड लगायत कैयौँ यूरोपेली देशहरुले रुसी राजदूतहरुलाई उनीहरुका विदेश मन्त्रालयहरुमा बोलाएका थिए।