बल ट्याम्परिङ: लीमनद्वारा अस्ट्रेलियाको प्रशिक्षकबाट पद त्याग्ने घोषणा

  • 29 मार्च 2018
अस्ट्रेलिया तस्वीर कपीराइट Getty Images

अस्ट्रेलियाका प्रमुख क्रिकेट प्रशिक्षक डारेन लीमनले साउथ अफ्रिकासँग शुक्रवारदेखि सुरु हुन लागेको टेस्ट शृङ्खला सकिएपछि पद त्याग्ने भएका छन्।

खेलाडीहरूले बल ट्याम्परिङ गरेको अर्थात् बलको स्वरूप बिगारेको कुरा सार्वजनिक भएपछि ४८ वर्षीय लीमनले पद त्याग गर्ने घोषणा गरेका हुन्।

क्रिकेट अस्ट्रेलियाले लीमनले कुनै गलत कार्य नगरेको भन्दै सफाइ दिएको थियो।

कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरलाई एक वर्ष र अर्का खेलाडी क्यामरन ब्यान्क्रफ्टलाई नौ महिनाका लागि खेल्न प्रतिबन्ध लगाइएको छ।

बुधवार आफूले राजीनामा नदिने बताएको भएपनि स्मिथ र ब्यान्क्रफ्टले पत्रकार सम्मेलनमा भावुक रूपमा प्रस्तुत हुँदै बिहीवार क्षमायाचना गरेपछि उनले सो निर्णय गरेका हुन्।

उनी सन् २०१९ को याशेज् शृङ्खलासम्मका लागि अनुबन्धित थिए।

उत्तरदायित्व

"टोलीको संस्कारका लागि अन्तत: म नै उत्तरदायी हुँ," उनले भने।

"यसो गर्दा क्रिकेट अस्ट्रेलियाले टोलीको पूर्ण समीक्षा गर्न पाउँछ र आम अस्ट्रेलियालीको विश्वास जित्नेगरी परिवर्तन कार्यान्वयन हुनसक्छ।"

प्रशिक्षकका रूपमा गज्जबको अनुभव गर्न सँगालेको भन्दै उनले अस्ट्रेलियाली टोली फेरि बन्ने र आम जनताले खेलाडीहरूलाई क्षमा दिने आशा व्यक्त गरे।

"उनीहरूले गम्भीर त्रुटि गरेका छन्। तर उनीहरू खराब व्यक्ति हैनन्।"

लीमन सन् २०१३ मा अस्ट्रेलिया मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

उनकै प्रशिक्षणमा अस्ट्रेलियाले सन् २०१५ मा विश्व कप क्रिकेट जितेको थियो।

'गम्भीर त्रुटि'

कार्बाहीपछि २८ वर्षीय स्मिथ र २५ वर्षीय ब्यान्क्रफ्ट कम्तीमा दुई वर्ष कप्तान बन्न पाउने छैनन्।

एकतीस वर्षीय वार्नरले भविष्यमा कुनै पनि नेतृत्वदायी भूमिका पाउने छैनन्।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा स्मिथले भने, "म के स्पष्ट पार्न चाहन्छु भने अस्ट्रेलियाली क्रिकेट टोलीको कप्तानको रूपमा म पूर्ण रूपमा जिम्मेवारी लिन्छु।"

"मैले निर्णय गर्नमा गम्भीर त्रुटि गरेँ र यसको दुष्परिणाम मलाई थाहा छ। यो मेरो नेतृत्वको विफलता हो।"

कसरी हुन्छ बल ट्याम्परिङ?

Image caption खेलाडीहरूले नर्मल स्विङ गर्दा बलको चिल्लो भागमा गम वा चिल्लो पदार्थ दलेर बल ट्याम्परिङ गर्छन्
Image caption खेलाडीहरूले रिभर्स स्विङ गर्दा बलको खस्रो भागलाई कोतरेर बल ट्याम्परिङ गर्छन्

सम्बन्धित सामग्री