नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

  • 30 मार्च 2018
खड्का

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको ६६ वर्षको उमेरमा शुक्रवार निधन भएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उनको निधन भएको हो।

उनी मिर्गौला, छाती र स्नायुसम्बन्धी समस्याबाट पीडित थिए। अस्वस्थताका कारण उनी लामो समयदेखि राजनीतिमा सक्रिय थिएनन्।

उनका दुवै मिर्गौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई गत फागुनको पहिलो साता नयाँ दिल्लीमा लगिएको नेपाली कांग्रेसले जनाएको छ।

प्रभावशाली

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगेपछि उनको राजनीतिक जीवनमा ठूलो धक्का लागेको थियो।

तर पनि पार्टी राजनीतिमा भने नेता खड्का प्रभावशाली भूमिकामा देखिने गरेका थिए।

केही दिनअघि खड्काको स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले उनको अवस्थाबारे बुझ्न तर्फबाट केन्द्रीय सदस्यहरू शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो।

कांग्रेसका नेता बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा भारतबाट नेपाल फर्किँदा शैलजा आचार्य, खुमबहादुर खड्का लगायतपनि सँगै फर्किएका थिए।

नेपालमा आफूविरुद्ध अनेक मुद्दा भए पनि बीपीको नेपाल फर्किने निर्णयलाई कांग्रेसभित्रै कतिपयले जोखिमपूर्ण र आत्मघाती कदमको रूपमा लिने गर्दथे।

बीपीको उक्त कदममा साथ दिएर नेपाल फर्किएका नेता खड्का पञ्चायतको अवसान र प्रजातन्त्रको पुनर्स्थापनापछि पार्टी र सत्ता राजनीतिमा लामो समय शक्तिशाली भूमिकामा थिए।

मुद्दा

तर राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेपछि उस बेलाका शक्तिशाली अन्य नेतासँगै खड्काविरुद्ध अकुत सम्पति कमाएको आरोपमा मुद्दा परेको थियो।

६ वर्षअघि सर्वोच्च अदालतले दोषी ठहर्‍याएपछि उनी जेल चलान गरिएका थिए।

पछिल्लो समयमा उनले आफूलाई हिन्दू धर्मको वकालत गर्नेहरुको लहरमा समेत उभ्याएका थिए।

उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले समवेदना व्यक्त गरेका छन्।

देउवाले ट्विटरमा लेख्दै लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो संघर्ष गरेका कांग्रेस नेता एवं प्रिय मित्र खुमबहादुर खड्काको निधनको खबरले निकै दुःखी भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले पनि खडकाको निधनमा दुख व्यक्त गरेका छन्।

उनले एक ट्वीट गर्दै भने, "नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको खवरले म स्तब्ध भएको छु । स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछु ।"

सम्बन्धित सामग्री