'बलात्कारको प्रारम्भिक अनुसन्धान कमजोर'

  • 30 मार्च 2018
पीडित

विगतको तुलनामा बलात्कारका उजुरी प्रहरीसमक्ष आउनेक्रम बढेपनि प्रारम्भिक अनुसन्धान तथा प्रमाण संकलन गर्ने पद्धतिमा सुधार नआएका कारण पीडितले न्याय नपाउने जोखिम कायम नै रहेको कानुन व्यवसायी तथा अधिकारकर्मीहरुले बताएका छन्।

बलात्कारका घटनामा मुद्दालाई बलियो बनाई दोषी उम्कन नदिन अनुसन्धान गर्ने निकायलाई पीडितपक्षमा थप सहयोगी बनाउनुपर्ने उनीहरुको सुझाव छ।

बलात्कार जस्ता अपराधको अनुसन्धान गरी पीडितलाई न्याय र दोषीलाई सजाय दिन कुनै कसर बाँकी नराख्ने सरकारी निकायले बताउँदै आएका छन्।

तर गृहप्रशासनले भने अनुसन्धान तथा प्रमाण संकलन गर्ने कार्य चुस्त तथा पीडितमैत्री रहेको बताएको छ।

'बलात्कारबारेको अनुसन्धान चुस्त बनाऊ'

बालिकाको बलात्कारमा दुई मामालाई जेल

चुनौती

तर राजधानीको दरबारमार्गमा भएको बलात्कारको चर्चा सेलाउन नपाउँदै दैनिकजसो त्यस्ता घट्नाहरुको उजूरी परिरहेको प्रहरीको भनाइ छ।

प्रहरीकै तथ्यांक अनुसार पछिल्ला चार वर्षयता देशभरी गरी झण्डै ३७ सय बढि बलात्कार र बलात्कारको प्रयासको अभियोगमा १८०० बढी मुद्दा दर्ता भएका छन्।

तर शुरूवाती अनुसन्धान नै प्रभावकारी नदेखिएको कानून व्यवसायी शुष्मा गौतम बताउँछिन्।

उनले भनिन्, ''अनुसन्धानको क्रमदेखि नै मुद्दालाई फितलो बनाउँदै लैजाने गरिन्छ। अनुसन्धानकर्ता समक्ष पुगिसकेको उजूरी गईसकेपछि पनि अनुसन्धानकर्ताबाटै पनि मुद्दालाई दबाउन, लुकाउन वा मिलापत्र गर्नेजस्ता कुराहरु अत्यन्त ठूलो चुनौतीको रुपमा रहेको छ।''

बलात्कारका घटनामा तत्काल प्रहरीले अनुसन्धान र चिकित्सकले स्वास्थ्य परीक्षण गर्छन्।

गुनासो

तर सुरक्षा, गोपनीयता तथा थप मानसिक सास्ती खेप्नुपर्ने पीडितको अनुभव रहेको बताइन्छ।

सरकारवादी मुद्दामा मिलापत्र गराउनसक्ने सम्भावना नरहेपनि अनुसन्धानको प्रकृयामा आउनुपूर्व नै मिलापत्र गराउने वा उजूरी नलिने समस्यापनि ज्यूँकात्यूँ रहेको गुनासो पाइन्छ।

तर गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ''ठ्याक्कै त्यस्तो अवस्था देखिदैन। विगतको तुलनामा त्यस्तो परिपाटी विस्तारै अन्त्य भएको छ। प्रहरी प्रशासनले पीडितको पक्षमा काम गर्नुपर्ने कानुनी व्यवस्था नै छ। उजुरी नलिएको, अनुसन्धानमा गंभीर नभएको भन्ने जानकारी हामीकहाँ आएको छैन। यदि त्यस्तो हो भने हामीलाई जानकारी गराईदिनुस्।''

पटकपटक यस्ता घटना मिलाउने प्रयत्न वा दोषीलाई उम्काउन खोज्ने प्रवृतीविरुद्ध शून्य सहनशीलता अपनाउँदै आएको प्रहरीको भनाइ छ।

त्यस्ता काममा संलग्न प्रहरीलाई कार्वाही समेत गरिएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले भने, ''यस्तो प्रकारका एकाध घटना देखिएको छ। उदाहरणको रुपमा लिन सकिएला। त्यस्ता घटनाहरु लुक्दैनन्। तर दोषी ठहरीएमा प्रहरीलाई कारवाही हुन्छ। तर महिला हिंसाको कुनैपनि घटनाहरुमा चाँही मेलमिलाप हुन सक्दैन।''

पछिल्ला दिनमा राजधानी काठमाण्डू लगायतका प्रमुख शहरमा सामूहिक बलात्कारका घटना भएका खबर लगातार प्रकाशमा आउनुका साथै मिलापत्र गराउने प्रयास भएका घटना पनि सार्वजनिक भएका छन्।