थप ब्रिटिश कूटनीतिज्ञ रुसबाट निष्कासित

रुस

तस्बिर स्रोत, Getty Images

रुसले ५० भन्दा बढी संख्यामा त्यहाँस्थित ब्रिटिश कूटनीतिज्ञहरुले देश छाड्नुपर्ने भनेर ब्रिटेनलाई बताएको छ।

ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचर तथा उनकी छोरीमाथि स्नायु प्रणालीमा असर गर्ने विषाक्त रासयानिक हमला भएपछि दुई देशबीच विवाद गहिरिँदै गइरहेका बेला रुसी पक्षको यस्तो कदम आएको हो।

यसअघि लण्डनले २३ जना रुसी कूटनीतिज्ञहरुलाई देश छाड्न आदेश दिएपछि मस्कोले सुरुमा त्यति नै संख्यामा ब्रिटिश कूटनीतिज्ञहरुलाई देशनिकाला गरेको थियो।

अहिले आएर थप ब्रिटिश कूटनीतिज्ञहरुले देश छाड्नुपर्ने अडान रुसी पक्षले लिएको छ।

अर्थ

ब्रिटेन तथा रुसी कूटनीतिक नियोगहरुको आकार समान हुनुपर्ने रुसले बताएको छ।

मस्कोबाट बीबीसी संवाददाता पोल एडम्स भन्छन्, "यसको अर्थ भनेको कम्तीमा अन्य २७ जना ब्रिटिश अधिकारीहरु घर फर्काइनेछन्"।

भूतपूर्व रुसी गुप्तचर सेर्गेई स्क्रीपाल तथा उनी छोरी युलिया स्क्रीपालमाथि गत मार्च ४ मा दक्षिणी इंग्ल्याण्डको सोल्जबरीमा भएको विषाक्त रासयानिक हमलामा रुसको संलग्नता भएको आरोप ब्रिटिश सरकारले लगाउँदै आएको छ।

तर मस्कोले भने आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।

अनुमति

रुसले ब्रिटेनसँग लण्डनस्थित उसको दूतावासका कर्मचारीलाई युलिया स्क्रीपालसँग कुरा गर्ने अनुमति मागेको छ।

उनको स्वास्थ्यमा सुधार आएको र हाल उनी कुरा गर्न सक्ने अवस्थामा रहेको बताइएको छ।

ब्रिटिश विदेश मन्त्रालयकी एकजना प्रवक्ताले उनीहरुले सो आग्रहबारे विचार गरिरहेको र त्यसो गर्ने क्रममा युलिया स्क्रीपालको अधिकारहरु तथा इच्छा साथै ब्रिटेनका अन्तर्राष्ट्रिय दायित्वहरुलाई ध्यानमा राख्ने बताएकी छन्।

तर सेर्गेई स्क्रीपालको अवस्था भने अझै गम्भीर रहेको छ।

स्क्रीपाल र उनकी छोरीमाथि भएको हमलाको घटनामा ब्रिटेनप्रति ऐक्यबद्भता जनाउँदै २९ वटा देशहरुले १ सय ४५ जना रुसी अधिकारीहरुलाई निष्कासन गरिसकेका छन्।

उत्तर एटलान्टिक सन्धि संगठन-नेटोले समेत बेल्जियमस्थित उसको मुख्यालयमा रहेको रुसी मिसनबाट १० जना रुसी अधिकारीहरूलाई देश फर्कन आदेश दिएको छ।

संयुक्त राज्य अमेरिकाले सबैभन्दा धेरै संख्यामा- ६० जना कूटनीतिज्ञहरूलाई निष्कासन गरिदिएको छ।

साथै सियाटलस्थित रुसी महावाणिज्यदूतावासको कार्यालय पनि बन्द गरिदिएको छ।