भारत भ्रमण सम्बन्ध सुधारमा केन्द्रित: ओली

तस्बिर स्रोत, PIB
दुई वर्षअघिको भारत भ्रमणको बेला मोदीसँगै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आगामी चैत्र २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन्।
राजधानीको एक कार्यक्रममा ओलीले उक्त भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताएका हुन्।
वाम गठबन्धनका अर्का शीर्षस्थ नेता प्रचण्डले चाहिँ विगतमा भारत वा चीन इतरको रुपमा नेपालका सरकारहरुलाई चित्रित गरिएकाले दुवै छिमेकबाट लाभ लिन नसकिएको भन्दै त्यस्तो अवस्था आउन नदिन सुझाव दिएका थिए।
सिंहदरबारमा पुनरागमनपछिको आफ्नो पहिलो विदेश यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भारत जाने तयारी भइरहँदा त्यसलाई धेरैले चाखपूर्वक हेरेका छन्।
सहयोगी
विगतमा प्रधानमन्त्रीका रुपमा ओली र दिल्लीबीच रहेको तिक्ततापूर्ण सम्बन्धको पृष्ठभूमिमा आसन्न भ्रमण सम्बन्ध सुधारमा केन्द्रित रहने ठानिएको छ।
त्यस्तो मूल्यांकनलाई बल मिल्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले भने, "छिमेकीहरु हाम्रो एकताबद्ध विकासको प्रयासमा सहयात्रा गर्न तयार छन्। त्यसकारण म छिट्टै भारत भ्रमणमा जाँदैछु। नेपालको विकासमा भारत सहयोगी भूमिकामा रहन्छ। र, त्यसकै लागि म अझ बढ्ता हाम्रो सम्बन्धलाई सुमधर बनाउन भारत भ्रमणमा जाँदैछु।"
ओली र उनी नेतृत्वको सरकारसँग सम्बन्ध सुधार्न दिल्ली पनि अग्रसर भएजस्तो देखिन्छ।
ओलीलाई प्रधानमन्त्री चुनिनुअघि र पछि भारतीय समकक्षी नरेन्द्र मोदीले दिएको प्राथमिकता र विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले पनि त्यो दर्शाउँछ।
आपसी अविश्वास हटाउने मौकाको रुपमा दुवै पक्षले हेरेको ठानिएको आगामी भ्रमणमा नयाँ दुईपक्षीय सम्झौता भने नहुने उच्चसरकारी अधिकारीहरुले पनि बताइसकेका छन्।
आश्वस्त
तर दिल्लीमा काठमाण्डू-बेइजिङको सम्बन्धलाई लिएर संशय र कतिपय अवस्था चीन पनि नेपालमा भारतको भूमिकालाई लिएर आश्वस्त हुन नसकेको पाइन्छ।
तस्बिर स्रोत, PM secretariat
त्यस्तै आशंकातर्फ संकेत गर्दै सत्तारुढ वाम गठबन्धनका अर्का शीर्षस्थ नेता प्रचण्डले भने, "लामो समयसम्म नेपालमा विदेश नीतिका सन्दर्भमा फुटाऊ र राज गर भनेजस्तो कसैलाई भारत इतर, कसैलाई चीन इतरको भनाउने र त्यसरी नै राजनीति गर्ने र कहिले पनि राष्ट्रिय एकता हुन नदिने। छिमेकीहरुको सम्बन्धलाई सन्तुलित बनाएर देश र जनताको हितमा सदुपयोग गर्ने वातावरण बन्न दिइएन।"
विगतमा बलियो सरकार नरहेको पृष्ठभूमिमा गठबन्धनका दुवै नेताले दिल्लीसँग पहिला बिग्रेको सम्बन्ध सुधार्ने मौकाको रुपमा आसन्न भ्रमणलाई चित्रित गरेपनि वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछ, त्यसलाई दिल्लीले नजिकबाट नियाल्ने ठानिएको छ।
शायद त्यसैको आधारमा दिल्लीले आफ्नो धारणा बनाउने कतिपय जानकारको मत पाइन्छ।

एक महिनामा दोस्रो पटक मोदी-ओली फोन वार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीसँगको टेलिफोन कुराकानीमा उनलाई भावी प्रधानमन्त्रीका रुपमा भारत भ्रमणको मौखिक निम्तो दिएको विवरणहरुमा जनाइएको छ।