किमद्वारा 'के-पप' कलाकारको प्रदर्शन अवलोकन

दक्षिण कोरियाली कलाकारहरू

तस्बिर स्रोत, AFP

उत्तर कोरियाली नेता किम जोङ-अन र उनकी श्रीमतीले प्योङ्याङमा विरलै भएको एक समारोहमा दक्षिण कोरियाका 'के-पप' कलाकारको प्रदर्शन हेरेका छन्।

किमले दक्षिण कोरियाका कलाकारको प्रदर्शन हेरेपछि अरूले जस्तै ताली बजाएका थिए।

कार्यक्रम सकिएपछि उनले कलाकारहरूसँग कुराकानी गर्दै तस्बिर खिचेको समाचारहरूमा जनाइएको छ।

कलाकारहरूको दशककै पहिलो भ्रमण विभाजित कोरियाली प्रायद्वीपका दुई देशका नेताहरूबीच शिखर वार्ताको तयारी चल्दै गर्दा भएको हो।

दुई कार्यक्रमहरूमा गरी प्योङ्याङमा ११ वटा सांगीतिक कार्यक्रम गर्ने योजना छ।

भ्रमण

यसअघि उत्तर कोरियाले दक्षिण कोरियाको प्योङ्चाङमा शीतकालीन ओलिम्पिक्समा आफ्ना कलाकारहरू पठाएको थियो।

महिनौँको तनावपछि दुई कोरियाबीचको सम्बन्ध सुधार हुँदै गर्दा कलाकारहरूको भ्रमण भएको हो।

'स्प्रिङ् इज। कमिङ्' अर्थात् 'वसन्तको आगमन हुँदैछ' नाम दिइएको सांगीतिक कार्यक्रम आइतवार प्योङ्याङको ग्रान्ट थिएटरमा भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छ्न्।

'के-पप' र 'रक' विधा समेटिएको अर्को सांस्कृतिक कार्यक्रम मङ्गलवार हुने कार्यक्रम छ।

दक्षिण कोरियाको योन्हाप समाचार संस्थाका अनुसार दक्षिण कोरियाली कलाकार समूहको कार्यक्रम हेर्ने किम उत्तर कोरियाका पहिलो नेता हुन्।

उपस्थिति

कार्यक्रममा किमकी बहिनी किम यो-जोङ र प्रभावशाली नेता किम योङ-नाम पनि उपस्थित थिए।

किमले "कार्यक्रमलाई निकै अभिरुचिपूर्वक हेरेको र गीत र तीनको अर्थबारे प्रश्न गरेको" दक्षिण कोरियाका संस्कृति मन्त्री दो जोङ-ह्वानले पत्रकारहरूलाई बताएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

यसै महिनाको सुरुमा उत्तर कोरियाली दर्शकले दक्षिण कोरियाली तेक्वान्दो टोलीको प्रदर्शन हेरेका थिए। तर त्यहाँ किम उपस्थित थिएनन्।

प्योङ्याङका कार्यक्रममा दक्षिण कोरियाको प्रसिद्ध समूह 'रेड भेल्भेट' र गायिका सेओह्युन र चोइ जिन-हीले प्रदर्शन गर्ने कार्यक्रम छ।