जब अमेरिकी गुप्तचरले रुसी अन्तरिक्षयान चोरे...

  • 2 एप्रिल 2018
luna तस्वीर कपीराइट Getty Images

आजभन्दा ६० वर्ष पहिले सीआईएका केही विशेष गुप्तचरहरू एउटा महत्त्वपूर्ण अभियानलाई अन्तिम रूप दिन सक्रिय थिए।

त्यो अभियानको उद्देश्य रुसी अन्तरिक्ष यान लूनाको पार्टपुर्जा खोलेर त्यसको तस्बिर लिनु थियो। अनि रुसी अधिकारीहरूले पत्तो नपाउने गरी त्यसलाई यथास्थितिमा छोडिदिनु थियो।

किनभने त्यो अभियानबारे अरूले थाहा पाउँदा सोभियत सङ्घसँग 'अन्तरिक्ष प्रतिस्पर्धा' गरिरहेको पश्चिमी जगत्‌का लागि त्यसले लाजमर्दो अवस्था सिर्जना गरिदिन्थ्यो।

त्यही भएर अमेरिकाले त्यो अभियानलाई गुप्त रूपमा सम्पन्न गर्नु अनिवार्य मान्यो।

त्यो कामका लागि अभियानमा सम्मिलित सीआईएका गुप्तचरहरूले आठ घण्टा मात्र पाएका थिए। र उनीहरूले त्यो काम चार चरणमा पूरा गरे।

पहिलो चरण: कसरी गुप्तचरी गरियो?

संसारको पहिलो कृत्रिम भूउपग्रह स्पुतनिकलाई पृथ्वीको कक्षमा पठाएपछि सोभियत सङ्घले लूना नामको महत्वकाङ्क्षी परियोजना सुरु गरेको थियो।

सन् १९५९ को सेप्टेम्बर महिनामा लूना-टू चन्द्रमाको सतहमा पुग्ने पहिलो मानवनिर्मित अन्तरिक्षयान बन्यो।

तस्वीर कपीराइट Getty Images

त्यसको ठिक एक महिनाअघि लूना-थ्री नामक अन्तरिक्षयान पहिलो पटक चन्द्रमा पुगेर त्यहाँको तस्बिर खिचेर इतिहास रचेको थियो।

यही कारणले सोभियत सङ्घले सन् १९५९ देखि १९६० को बीचमा संसारलाई आफ्नो औद्योगिक र आर्थिक प्रगति देखाउने प्रयास सुरु गरेको थियो।

यसै क्रममा सोभियत सङ्घले आफ्नो अन्तरिक्षयान लूनालाई अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन पनि प्रयोग गरेको थियो।

तर त्यो अन्तरिक्ष यान लूना नै थियो कि त्यसको प्रतिकृति?

सन् १९९५ मा सार्वजनिक भएको सीआईएको एउटा दस्तावेजका अनुसार अमेरिकी विश्लेषकहरूले सोभियत सङ्घले आफ्नो सक्कली अन्तरिक्षयान लूनाको प्रयोग नगरेको आशङ्का गरेका थिए।

त्यस्तो अवस्थामा वास्तविकता जान्नका लागि एउटा कारबाही अघि बढाउने योजना बनाइएको थियो।

तस्वीर कपीराइट NSSDC

त्यसपछि अमेरिकी गुप्तचरहरू एकदिन सोभियत सङ्घले आफ्नो प्रचारप्रसारको कार्यक्रम चलाइरहेको स्थानमा पुगेका थिए।

आफ्नो खोजीका क्रममा अमेरिकी गुप्तचरहरूले उक्त अन्तरिक्षयान नक्कली लुना नभई सक्कली नै भएको तर त्यसको इन्जिन र इलेक्ट्रोनिक पार्टपुर्जा निकालिएको पत्ता लगाए।

तर उक्त अन्तरिक्षयानबारे थप जानकारी लिन उनीहरूले सोभियत सुरक्षाकर्मीले पहरा दिएको उक्त प्रदर्शनीस्थलबाहिर उक्त यानलाई निकालेर हेर्नुपर्ने भयो।

त्यसपछि सीआईएले एउटा नाटकीय योजना बनायो।

दोस्रो चरण: लूनाको अपहरण

त्यो योजनाअन्तर्गत गुप्तचरहरूले लूनालाई एक सहरबाट अर्को सहरमा लैजाने क्रमलाई निगरानी राख्न थाले।

उनीहरूले लूना अन्तिम ट्रकमा राखेर लगिएको बेला आफ्नो काम सम्पन्न गर्ने कुरा सुनिश्चित गरे।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अमेरिकाको अन्तरिक्ष अभियान

त्यसपछि स्थानीय मानिसहरूको जस्तै लुगा लगाएर गुप्तचरहरूले अन्तिम बिसौनीमा उक्त ट्रकलाई रोके।

आधिकारिक दस्तावेजका अनुसार - "त्यसपछि ट्रकका चालकलाई होटलमा पठाइयो जहाँ उनले रात बिताए। त्यसपछि ट्रकलाई तुरुन्तै एउटा कवाडी सङ्कलन केन्द्रमा लगियो जुन ठाउँ पहिल्यै नै भाडामा लिइएको थियो।"

सोभियत सङ्घले उनीहरूको गतिविधिबारे केही भेउ पाएको छ कि छैन भनेर अमेरिकी गुप्तचरहरूले लभभग ३० मिनेट जति बिताए।

त्यसपछि साढे सात बजेतिर सीआईएका वैज्ञानिक र प्राविधिक जानकारी सङ्कलन गर्ने जिम्मेवारी पाएका गुप्तचरहरू त्यहाँ पुगे।

तोस्रो चरण: अन्तरिक्ष यान खोलेर तस्बिर

तस्वीर कपीराइट CIA

ती गुप्तचरहरूलाई अन्तरिक्षयान लूना बोकेको कन्टेनर भित्रबाट बन्द गरिएको थाहा थियो।

त्यसमा कसैलाई थाहा नहुने गरी छतबाट मात्र प्रवेश गर्न सकिन्थ्यो।

डोरीको सहायतामा भित्र पसेपछि उनीहरूले समूह बनाएर काम विभाजन गरे।

दुई जना गुप्तचर इन्जिन भएतिर गए।

अन्य दुई जना इलेक्ट्रोनिक उपकरण गायब भएको भागतिर लागे। त्यहाँ एउटा सोभियत सिल लगाइएको थियो।

सीआईएका दस्तावेजअनुसार उनीहरूले उक्त सिल तोडे र सीआईएले बनाएको अर्को सिल लगाए।

उक्त कन्टेनरभित्र फ्ल्याश लाइटको प्रयोग गरी उज्यालो बनाइयो। सीआईएका गुप्तचरहरूले लूनाको मुख्य भागलाई खोलेर त्यसको तस्बिर लिए र पहिलेको जस्तै हुने गरी त्यसलाई जोडेर राखिदिए।

तस्वीर कपीराइट NSSDC

सीआईएको दस्तावेजअनुसार, "हामीले हाम्रा सबै उपकरण सबेरै ४ बजे सम्ममा समेटिसकेका थियौँ। र हामीलाई हाम्रो कारले त्यहाँबाट लिएर गयो।"

त्यसपछि सोभियत सुरक्षाकर्मीहरू आउनुभन्दा पहिले नै कार्गोलाई रेलवे यार्डसम्म पुर्‍याउने जिम्मा ट्रकको असली चालकलाई दिइएको थियो।

सीआईएका अनुसार सोभियत सङ्घका अधिकारीहरूलाई लूनाको अपहरणबारे थाहा भएको सङ्केत आजसम्म पनि पाइएको छैन।0

चौथौ चरण- जानकारी सङ्कलन

त्यसरी सङ्कलन गरिएको जानकारी अमेरिकाका लागि निक्कै महत्त्वपूर्ण ठहरियो।

अमेरिकाले आफ्नो अन्तरिक्षप्रविधिमा पुनर्विचार गर्ने अवसर पायो।

तर पनि त्यसपछिका वर्षमा सोभियत सङ्घ आफ्ना नागरिक युरी गगारिनलाई अन्तरिक्षमा पठाउन सफल भयो।

अमेरिकाले भने सन् १९६९ को एप्रिल २० मा अन्तरिक्षयान अपोलो ११ बाट आफ्ना अन्तरिक्षयात्री नील आर्मस्ट्रङलाई चन्द्रमामा अवतरण गरायो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
युरी गगारिनको संझना