भारत: दलितहरूद्वारा प्रदर्शन, झडपमा केहीको मृत्यु

  • 2 एप्रिल 2018
भारतमा प्रदर्शन तस्वीर कपीराइट Getty Images

भारतमा दलित समुदायले गरेका विरोध प्रदर्शन र भारतबन्दका माझ ठाउँठाउँमा हिंसात्मक झडप भएका छन्।

मध्य प्रदेशमा ४ जनाको ज्यान गएको छ।

केही स्थानमा रेल सेवामा अवरोध पुर्‍याइएको छ।

कारण

दलित तथा जनजाति समुदायविरूद्ध हुने ज्यादतीका घटनाहरूमा पक्राउ गर्दा थप जाँच गरिनु पर्ने भनी सर्वोच्च अदालतले हालै गरेको निर्णयले आफूहरूमाथिको आक्रमणमा वृद्धि हुने भन्दै दलित समुदायले ती प्रदर्शन गरेको बताएका छन्।

सर्वोच्च अदालतले सूचीकृत वर्ग वा सूचीकृत जातिका विरुद्ध हुने ज्यादती रोकथामसम्बन्धी ऐनमा तत्काल गिरफ्तार गरिन नहुने भनेको थियो।

सो निर्णयबाट क्रुद्ध दलित संगठनहरूले सोमवार भारत बन्दको आह्वान गरेका थिए।

यस्तो विरोध प्रदर्शन मध्य प्रदेश, उत्तर प्रदेश, हरियाणा, झारखण्ड जस्ता राज्यहरूमा भएका छन्।

कश्मीरमा हिंसा

तस्वीर कपीराइट Reuters
Image caption एक संदिग्ध विद्रोहीको अन्तिम संस्कारका क्रममा कश्मीरकी महिला विलाप गर्दै

यसबीच बेग्लै घटनामा भारत-प्रशासित कश्मीर राज्यमा आइतवार भएका हिंसात्मक झडपहरूमा परी २० जनाको ज्यान गएपछि सोमवार उक्त राज्यको विभिन्न भागमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली चलाउँदा चार जना गैरसैनिक मारिएका थिए।

कश्मीरका अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा उक्त क्षेत्रमा एकै दिनमा यति धेरैले ज्यान गुमाएको यो एउटा सबभन्दा खराब घटना हो।

भारत र पाकिस्तानले आफ्नो भन्दै पूर्ण रूपमा दाबी गर्दै आएको कश्मीरमा जारी द्वन्द्वका कारण दशौँ हजार मानिसको ज्यान गइसकेको छ।

सम्बन्धित सामग्री