इजरेल: आप्रवासीलाई निकाल्ने योजना रद्द

  • 2 एप्रिल 2018
इजरेल तस्वीर कपीराइट Getty Images

इजरेलले सामूहिक रूपमा अफ्रीकी आप्रवासीहरुलाई देशबाट निकाल्ने योजनालाई रद्द गरेको छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले १६ हजार शरणार्थीलाई पश्चिमा देशहरुमा पठाइने जनाएको छ।

बाँकी रहेका करिब १८ हजारलाई चाहिं इजरेलमै स्थायी बस्न दिइने भनिएको छ।

विरोध

आइतवारबाट देश निकालाको काम हुने भनिएकोमा त्यहाँको सर्वोच्च अदालतले त्यसलाई रोकिदिएको थियो।

इजरेलका अभियानकर्मीहरुले युगाण्डा तथा रूवाण्डा जस्ता देशका ती आप्रवासीलाई फिर्ता पठाउने योजनाको विरोध गर्दै आएका थिए।

जनवरीमा भएको निर्णयमा आप्रवासीलाई निश्चित रकम र प्लेन टिकट दिएर स्वैच्छिक फर्कन दिने वा नमाने जबरजस्ती हटाउने भनिएको थियो।

तर सो निर्णय इजरेलभित्रै विवादास्पद रह्यो।

देशभित्रका आलोचक तथा बाहिर रहेका यहुदी समुदायले उक्त योजना इजरेलको अन्तर्राष्ट्रिय छविमा दाग भएको बताएका थिए।

अब नयाँ योजना पाँच वर्षको अवधिमा लागू हुनेछ।

उक्त सम्झौतालाई प्रधानमन्त्री नेतान्याहुको कार्यालयले अभूतपूर्व भनेको छ।