राष्ट्रिय एकता भङ्ग गर्ने प्रयास: गृहमन्त्री

  • 2 एप्रिल 2018
गृहमन्त्री र अधिकारीहरु

देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएका गृहमन्त्री रामबहादुर थापाले जाति, क्षेत्र र धर्मको नाममा देशमा फेरि अस्थिरता निम्त्याउने र राष्ट्रिय एकता भङ्ग गर्ने प्रयास भइरहेको बताएका छन्।

'गृह प्रशासन सुधार कार्ययोजना' सार्वजनिक गर्दै उनले त्यस्तो षड्यन्त्र निस्तेज पार्ने दृढता पनि व्यक्त गरे।

भ्रष्टाचार र तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुने गृहमन्त्री थापाको प्रतिबद्धता थियो।

'कारागार सुधार कार्ययोजना दुई साताभित्र'

प्रयास गर्ने को?

आफ्नो मन्त्रालयको प्राथमिकता र योजना सार्वजनिक गरेपछि गृहमन्त्री थापाले लामो मन्तव्य दिएका थिए।

काठमाण्डूको ट्राफिक जाम, तस्करी, भारतसँगको सीमा अनुगमन, यातायात क्षेत्रको सिण्डिकेट, लागुऔषध कारोबार, कारागारका समस्यादेखि थुप्रै गैरकानुनी कामको चर्चा गर्ने क्रममा उनले एउटा संवेदशील प्रसङ्ग पनि उठाएका थिए।

गृहमन्त्री थापाको भनाइ थियो, "जन-बैरीहरू जाति, क्षेत्र, लिङ्ग र धर्मको नाममा राष्ट्रिय एकता भङ्ग गर्न चाहन्छन्। देशलाई फेरि अस्थिरताको भुमरीमा फसाउँन चाहन्छन्।"

उनले त्यो प्रयास को र कहाँबाट भइरहेको छ भन्ने चाहिँ खुलाएनन्। तर स्वतन्त्र मधेश, स्वतन्त्र पूर्व वा स्वतन्त्र पश्चिमका नारा सुनिरहेको भन्दै प्रसङ्ग जोडेका थिए।

तराई, पहाड र हिमाल अखण्ड: पूर्व राजा

महत्त्वाकाङ्क्षी

आफूले नेतृत्व गरेको गृह मन्त्रालयले त्यस्तो प्रयास सफल हुन नदिने मन्त्री थापाको भनाइ थियो।

पत्रकारका प्रश्न नलिई सम्बोधनमात्र गरेका उनले भ्रष्टाचार र तस्करीविरुद्ध कठोर रूपमा प्रस्तुत हुने पनि बताए।

उनको भनाइ थियो, "आर्थिक क्रान्ति र समृद्धिको निम्ति भ्रष्ट, दलाल र तस्करहरूविरुद्ध नयाँ ऐतिहासिक आन्दोलन जरुरी छ। त्यो आन्दोलन तस्करमाथिको आक्रमण र भ्रष्टमाथिको कारबाहीबाट सुरु गर्नुपर्छ।"

गृहमन्त्री थापाले मुलुकका समस्या र चुनौतीको भयानक चित्रण मात्र गरेनन्, त्यसको सामना गर्न गृह प्रशासनलाई साधनस्रोतले थप सुदृढ र सशक्त बनाउने महत्त्वाकाङ्क्षी लाग्ने खालका योजना पनि प्रस्तुत गरेका थिए।