अवरुद्ध रहेको औषधि खरिद प्रक्रिया खुल्ने

  • 3 एप्रिल 2018
औषधि अभाव

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागमा महानिर्देशक नियुक्ति गरेपछि झन्डै दुई महिनादेखि अवरुद्ध रहेको जिल्लाहरूमा पठाइने नि:शुल्क औषधि खरिद प्रक्रिया अब खुल्ने भएको छ।

बजेट निकासा गर्ने अख्तियारी पाएको महानिर्देशकको पद रिक्त रहेकोजस्ता कारणले गर्दा हाल अधिकांश जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधि अभाव हुन थालिसकेको छ।

स्वास्थ्य सेवा विभागमा महानिर्देशक नहुँदा स्वास्थ्य मन्त्रालयले केन्द्रमै खरिद गर्नुपर्ने ३२ प्रकारका औषधि खरिद गर्न नसकेको अधिकारीहरूले बताएका छन्।

स्थानीय तहमा बजेट निकासा हुन नसक्दा त्यहाँ पनि झन्डै २ महिनादेखि खरिद प्रक्रिया रोकिएको थियो।

विवाद

थुप्रै जिल्लाहरूमा औषधि अभाव भई बिरामीहरूले औषधि पाउन छाडेको खबरहरू सार्वजनिक भइरहेको बेला स्वास्थ्य मन्त्रालयले रिक्त रहेको उक्त पदमा सोमवार साँझ डा. गुणराज लोहनीलाई नियुक्ति गरेको छ।

योसँगै औषधि खरिद जस्ता समस्या हल हुने स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीले बताइन्।

उनले भनिन्, "हामीले पहिले पनि बजेट पठाएका हौँ। तर उनीहरूले विभिन्न कारणले औषधि किन्न सकेनन्। थप बजेट पठाउन यताबाट अलिकति विलम्ब भएको हो। तर अब महानिर्देशक नियुक्ति भयो। अब भोलिबाट काम शुरू हुन्छ।"

तत्कालीन स्वास्थ्य मन्त्री दीपक बोहराले गत पुसमा बहालवाला महानिर्देशक राजेन्द्र पन्तलाई हटाएर तारा पौडेललाई उक्त जिम्मेवारी दिएपछि सो पदमा राजनीतिक विवाद शुरू भएको बताइन्छ।

सो कदम विरुद्ध पन्त अदालत पुगेपछि समस्या चर्किएको थियो।

अभाव

मन्त्री बोहोराले फेरि अर्का महानिर्देशक विनोद श्रेष्ठलाई जिम्मा दिए पनि उनको अवकाशसँगै उक्त पद रिक्त हुन पुगेको हो।

जसको प्रत्यक्ष प्रभाव औषधि खरिद प्रक्रियामा देखिएको थियो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सिटामोल उत्पादन

औषधि खरिद गर्नका निम्ति बजेट निकासा गर्ने अधिकार औषधि विभागका महानिर्देशकलाई मात्र छ।

नयाँ नियुक्तिसँगै अब जिल्लाहरूमा २५ करोड रुपैयाँ तत्काल पठाइने मन्त्रालयले जनाएको छ।

विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले भने, "अहिले हामीले जिल्लाको आवश्यकता अनुसार घटी र बढी गरी २५ करोड बजेट पठाउन लागेका छौँ।"

स्वास्थ्य मन्त्रालयले देशभर ७२ प्रकारको औषधि नि:शुल्क वितरण गर्ने गर्दछ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारीहरूले भने बजेट आए पनि खरिद प्रक्रियामा समय लाग्ने हुनाले औषधि अभाव हट्न अझै केही समय लाग्ने बताएका छन्।

सम्बन्धित सामग्री